काठमाडौं : भारतको लखनऊ विश्वविद्यालयले नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई सम्मान गरेको छ।
नेता लेखक लखनऊ विश्वविद्यालयका पूर्वविद्यार्थी हुन्। विश्वविद्यालयको १०३ औं स्थापना दिवस तथा अन्तर्राष्ट्रिय ‘अलुमिनी मिट’ का अवसरमा लेखकलाई शनिबार सम्मान गरिएको हो।
नेता लेखकसहित सात जना पूर्वविद्यार्थीलाई विश्वविद्यालयले सम्मान गरेको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका पूर्वविद्यार्थीलाई विश्वविद्यालयले सम्मान गर्ने गरेको छ।
सम्मानित भएपछि नेता लेखकले ‘केही समयअघि लखनऊ विश्वविद्यालयका उपकुलपति प्रा. आलोक कुमार र त्रिभुवन विश्वविद्यालय ,राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिहरू बीच शैक्षिक विकासमा साझेदारी गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको अवस्था छ। नेपाली पक्षबाट भएका शैक्षिक विकासका समझदारी, साझेदारी लगायतका सम्झौताहरु कार्यान्वयनका लागि मेरो पहलकदमी हुनेछ’ भनेका थिए।
लेखकले उक्त विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर गरेका थिए।





