एनसेल घोटला छानबिन गर्न कांग्रेस महामन्त्री थापाको माग

२०८० मंसिर १९, मंगलवार

ओखलढुंगा : नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले एनसेल घोटला छानविन गर्न माग गरेका छन्। नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले हालै एनसेलमा अर्बौं घोटला भएको समाचार आएको भन्दै यसबारे छानविन हुनुपर्ने माग गरे।

उनले सरकारमा कांग्रेस भएजस्तो नभएको भन्दै अनियमितता र भ्रष्टाचार बढेको बताए। थापाले एनसेल घोटलामा ठूलै व्यक्तिहरू संलग्न भएको भन्दै छानविन गर्नुपर्नेमा जोड दिए। उनले अहिले कोही सिंहदरवार जलाउने र कोही राजतन्त्र ल्याउने भन्न थालेको भन्दै त्यस्ता अराजकहरूबाट यो व्यवस्था बचाउन र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आएको बताए।

नेता कार्यकर्ताहरूलाई उनले अलमलमा नपर्न सुझाव दिँदै संघ, प्रदेश र स्थानीयमा जताततै कांग्रेस सरकारमा भए पनि भएजस्तो नभएकाले नागरिकको अवस्था परिवर्तन नभएको बताए।

त्यस्तै नेता शेखर कोइरालाले सरकारको स्वामित्वमा आउन लागेको एनसेल बेचबिखनमा राज्यकै संलग्नता भएको बताउँदै आफूहरूले गम्भीररूपमा लिएको बताए। उनले राजनीतिज्ञ, कर्मचारी र व्यापारी मिलेर एनसेल घोटला भएको दाबी गरे। सदन र सडकबाट यो विषयलाई जनता समक्ष लैजाने कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार