आगलागी अपडेट : घाइतेलाई सेनाको स्काई ट्रकमा काठमाडौँ पठाइयो

२०८० मंसिर २०, बुधबार

विराटनगर : विराटनगरको मुख्य बजारको कवाडी पसलमा भएको आगलागीमा परी घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । नेपाली सेनाको  हेलिकप्टरमा बुधबार  बेलुका काठमाडौँ पठाइएको हो ।

विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको  थियो । चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइते चारै जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ  पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।  घाइतेलाई काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।

आगलागीमा परी घाइते भएकालाई हेलिकप्टर मार्फत काठमाडौं लैजान जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।सेनाको हेलिकप्टर आएपछि घाइते विराटनगर-६ की ६० वर्षीया रीता सरदार, विराटनगर-६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिंकी कामत र विराटनगर-६ का ५८ वर्षीय किशोर कामतलाई काठमाडौँ पठाइएको हो ।

सातघुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो। आगलागीमा परी दुई जनाको मृत्यु भएको थियो ।घटनास्थलमै  मृत्यु भएकी एक महिलाको पहिचान खुलेको छैन । अर्का घाइते तथा कवाडी पसलका सञ्चालक ४० वर्षीय दीपक मण्डलको  उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

आगलागीको कारण र क्षतिको विवरण आइनसकेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार