विराटनगर : कांग्रेस नेता डा शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तनको विकल्प नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संवाददाताहरूसँग कुरा गर्दै कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाए । उनले यो सरकारले जनतामा आशसम्म जगाउन नसक्ने सरकार परिवर्तनको विकल्प नभएको बताएका हुन् ।
कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो । कांग्रेसमा आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ । हाम्रो समूहमा दलको नेता फेर्ने आवश्यक संख्या छैन । कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनु पर्नेमा जोड दिँदै कोइरालाले पहिचानवादीहरूसँग वार्ताको टेबलमा बसेर विवाद मिलाउन पर्ने सुझाए । ‘कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,’ उनले भने ।
अर्को प्रसंगमा कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसेल प्रकरण हुनै नसक्ने ठोकुवा गरे । एनसेलमा एक–दुई अर्ब होइन अर्बौं अर्ब घोटाला भएको छ । कोइरालाले भने, ‘यति ठूलो घोटालामा राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना हुनै सक्दैन । कस–कसको संलग्नता छ भनेर विस्तारै अनुसन्धानले खुल्दै जान्छ ।’





