खजुरा : बाँके प्रहरीले ६ लाख बढीको सुनका विभिन्न गहनासहित एक भारतीय नागरिकलाई नेपालगन्जबाट पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१० चारबाहिनीस्थित साझा चोकबाट सुनका विभिन्न गरगहनासहित भारत बाबागञ्जका ४० वर्षीय बब्लु भनिने सञ्जयकुमार सोनीलाई जमुनाह नाकातिर जाँदैगरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
सोनीको साथबाट सुनका दुई थान मिनिहार, मसिनो सिक्री एक थान, नथिया ठुलो सानो एक थान, लकेट एक थान, कानमा लगाउने झाला चार थान, औँठी एक थान गरी ७० ग्राम तौल बराबरको सुनका सामग्री बरामद गरिएको उनले जानकारी दिए । सूचना अधिकारी डाँगीका अनुसार बरामद गरिएका सो गहनालाई जाँच गर्न बुधबार नेपाल सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा पठाइएको र उक्त सामग्री सुनकै भएको प्रमाणित गरिएको थियो ।
बरामद गरिएको ७० ग्राम तौल भएका सुनका गहनाको बजार मूल्य ६ लाख ७८ हजार १ सय ५८ रुपियाँ बराबर रहेको प्रहरीले जनाएको छ । सोनीको साथबाट युपी ४० एयु ४१९९ नम्बरको सुपर स्पिलेण्डर मोटरसाइकल एक थान, सामसुङ कम्पनीको ट्याब एक थान, ग्यारेन्टीवाला कानमा लगाउने टप ५४ जोर, ग्यारेन्टीवाला कानमा लगाउने बाली ३१ जोर र रातो पोतेमा पाइप लगाएको एक थानसमेत बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामग्रीलाई आवश्यक थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरीले जनाएको छ ।





