भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाण आज रिहा हुँदै

२०८० मंसिर २९, शुक्रबार

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण सात महिनापछि आज रिहा हुँदै छन् ।

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रवार धरौटी बुझाएर रिहा हुन लागेका हुन् । खाण पक्षका वकिल वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उच्चको आदेशबमोजिम शुक्रवार काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुने बताए । ‘उच्च अदालतको आदेश जिल्ला अदालतमा दर्ता हुन्छ । त्यसपछि धरौटी बुझाएर उहाँ रिहा हुनुहुन्छ,’ घिमिरेले भने, ‘कारागारबाट उहाँलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केही बेर हाजिर गराउनुपर्नेछ ।’

खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकोमा उच्च अदालतले बदर गरिदिएको हो । यसअघि उच्चका दुई न्यायधीशहरूबीच राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशसमक्ष पेस गरिएको थियो । न्यायाधीश कोइरालाले ३० लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिने पक्षमा राय राखेका हुन् ।

यसअघिको इजलासमा न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्ने राय राखेकोमा अर्का न्यायाधीश प्रकाश खरेलले खाँणलाई थुनामा पठाउनुपर्ने राय राखेका थिए । त्यसबेला न्यायधीशद्धय पाण्डे र खरेलको संयुक्त इजलासले ९ जनालाई थुनामै राखिरहन आदेश दिएको थियो भने भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा रिहा गर्न र बाँकी ४ जनालाई साधारण तारिखमा रिहाइको आदेश दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार