काठमाडौंले देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ : प्रधानमन्त्री दाहाल

२०८० मंसिर २९, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताएका छन् । २९औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए।

उनले संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताए । उनले संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने विश्वास व्यक्त गरे । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । संघीयताको अभ्यासपश्चात देशमा स्थानीय तहका दुई वटा निर्वाचन सम्पन्न भइसकेका छन् । यी दुवै निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै स्थानीय तहको सबलीकरणमा महत्त्वपूर्ण यागदान पुर्‍याएका छन् । २०७९ सालमा सम्पन्न निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले ७५३ स्थानीय तहको नेतृत्व गरिरहनुभएको छ,’ उनले भने ।

त्यस्तै प्रधानमन्त्री दाहालले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइने पनि प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्नेछु । संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानुनहरूको निर्माण मेरो पहिलो प्राथमिकतामा छ । संघीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै यो प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिन्छ ।’

प्रधानमन्त्री दाहालले पछिल्लो समय काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरू आफूले गम्भीरतापूर्वक नियालिरहेको बताए । उनले महानगरले सहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरुको संरक्षण, लागुऔषध, सुर्ती, चुरोटलगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति र रोजगारी सिर्जनाका क्षेत्रमा महत्त्वपूर्ण कदम चालेको बताए । ‘पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको छु । सहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागुऔषध, सुर्ती–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, त्यसले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’ प्रधानमन्त्री दाहालले भने ।

काठमाडौंले देशका अन्य स्थानीय तहलाई समेत अनुकरणीय नमुना प्रस्तुत गर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राजधानी सहरलाई सफा, हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न तपाईंहरूको प्रयास प्रशंसनीय छ । मेरो विश्वास छ– काठमाडौं महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ । यसका निम्ति नेपाल सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति म सधैं तत्पर रहेको पनि अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार