सडक निर्माणको काम सुरू नहुँदै म्याद सकियो

२०८० पुष ७, शनिबार

बझाङ : जिल्लाको एउटा पर्यटकीय सडकको काम नभई निर्माणको म्याद सकिएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माणको योजना अधुरै छ ।

खप्तड पुग्न सजिलोका लागि खप्तडछान्ना गाउँपालिकाको दारुगाउँदेखि खप्तड आधार शिविर क्षेत्र (लोखाडा)सम्म सडक निर्माण अघि बढाउने कामको अहिलेसम्म टुंगो लागेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले ‘खप्तड पर्यटकीय सडक’ निर्माणका लागि विं.सं. २०७६ सालमा बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालयअन्तर्गत सडक निर्माणको काम गर्ने गरी विनियोजित गरिएको रकम पहिलो किस्ता भुक्तानी गरी निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन् ।

पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान गरेपछि एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजार रुपैयाँमा ट्र्याक खोल्न ०७७ पुसमा सम्झौता गरेको थियो । निर्माण कम्पनीले नौ लाख ८४ हजार पहिलो किस्ताबापत भुक्तानी लिएको छ । त्यसपछि निर्माण व्यवसायी सम्पर्कविहीन भएको स्थानीयवासी बताउँछन् ।

सम्झौताअनुसार सडक खण्ड निर्माण सम्पन्न गर्ने म्याद ०७९ असार मसान्तसम्म थियो । तर, पहिलो किस्ता लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीका जिम्मेवार व्यक्ति पटक-पटक ताकेता गर्दासमेत सम्पर्कमा नआएका पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर जंगबहादुर थापा बताउँछन् ।

उनका अनुसार धेरै पटक पत्रचार गर्दासमेत सम्पर्कमा नआएपछि कार्यालयले कानुनी कारबाही अघि बढाएको छ । निर्माण स्थलमा सडकको ट्र्याक खोल्दा काम गरेको पैसासमेत नपाएको भन्दै खप्तडछान्ना गाउँपालिका-३ का बासिन्दाले एमपी कन्स्ट्रक्सनको ट्र्याक्टर कब्जामा लिएका स्थानीय टोपबहादुर खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार