रूपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा घरबेटी प्रधानले पाइन् सफाइ

२०८० पुष २१, शनिबार

काठमाडौं : तनहुँकी रूपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले विपक्षी काठमाडौंको बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई सफाइ दिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले घरबेटी प्रधानलाई सफाइ दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। २०७८ असार १ गते कोठा माग्न जाँदा रूपामाथि जातीय विभेद भएको भन्दै उनी प्रहरीकहाँ पुगेकी थिइन्।  त्यस मुद्दामा न्यायाधीश कार्कीको इजलासले दाबी नपुग्ने भन्दै घरबेटी प्रधानलाई सफाइ दिएको हो। त्यसअघि २०७८ मै जिल्ला अदालत काठमाडौंले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

घरबेटी प्रधानले पनि रूपा सुनारविरूद्ध बेइज्जतीको मुद्दा हालेकी थिइन्। उक्त मुद्दा पनि न्यायाधीश कार्कीकै इजलासमै परेको थियो। त्यसमा सुनारविरूद्धको मुद्दामा पनि दाबी नपुग्ने भन्दै सफाइ दिएको हो। २०७८ गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आरोप लागेको थियो।  आफूमाथि जातीय विभेद भएको भन्दै रूपाले उनीविरूद्ध प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

प्रहरीले घरबेटी प्रधानमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो। प्रधान हिरासतमुक्त भएकी थिइन्। हिरासतबाट छुट्दा उनलाई तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लिन प्रहरी कार्यालयमै पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार