भारतले दिने अनुदान राम-जानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा खर्च गर्न निधिको माग

२०८० पुष २२, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारतले दिने अनुदान जनपुरस्थित राम-जानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा खर्च गर्न माग गरेका छन्। निधिले विज्ञप्ति निकालेर धार्मिक, सांस्कृतिक पर्यटन विकासका लागि अत्यावश्यक रहेको जनकपुरधाम र भारतको अयोध्याबीचको हवाई सेवा पनि तत्काल सञ्चालनका लागि दुई देशबीच आवश्यक सम्झौता र समझदारीका लागि पहल गर्नुपर्ने उल्लेख गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला सय करोड रुपैंया अनुदान दिने घोषणा भएको भन्दै उनले रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा सो रकम लगानी गर्न माग गरेका छन्।

धनुषाको नेपाल-भारत सीमाबर्ती क्षेत्रमा जमुनी नदीको जटहीमा, जमुनी नदीको थली घाटमा र जमुनी नदीको अक्रहरघाटमा नेपाल सरकारबाट शिलान्यास भएर पनि वर्षौंदेखि निर्माण कार्य रोकिएका पुलहरुबारे पनि नेपाल र भारतबीच आवश्यक सहमति र समझदारी गरी तत्कालै निर्माण कार्यको अग्रसरता लिन निधिले नेपाल सरकारसँग आग्रह गरेका छन्।

परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडौंमा गत बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भएका सम्झौता तथा सहमतिको उनले स्वागत गरेका छन्। यसले नेपाल–भारतबीच रही आएको विशिष्ट सम्बन्धलाई थप बल पुर्‍याएको उनको विश्वास छ। सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सहमतिअनुसार अब भारतले २० करोड रुपैयाँसम्मको अनुदान दिन सक्ने भएको छ। जुन सकारात्मक कुरा भएको उनले बताए।

‘अनुदानमा आधारित यस्ता परियोजनाहरु धेरै पहिललेदेखि नै संचालित रहेको छ। २ करोड अनुदानबाट प्रारम्भ हुँदै ५ करोडसम्मको रकम दिँदै आइरहेको थियो। यस्तो परियोजना छनौट र स्वीकृतिका लागि शुरुदेखि नै नेपाल सरकारको सम्बन्धित निकाय, सरोकारवाला मन्त्रालय र अर्थ मन्त्रालयको संलग्नता र सहमति अनिवार्य रहदै आएको छ। यस पटकको सम्झौतामा ५ करोडबाट बढाएर २० करोड पुर्‍याएको मात्र हो। त्यसकारण भारत सरकारले मनमौजी ढंगबाट गर्ने सम्झौता भएको भन्नु आधारहिन र झुठो कुरा हो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार