काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) का महाप्रबन्धक सञ्जीवकुमार झालाई मन्त्रालय तानेको छ ।
मन्त्रालय स्रोतका अनुसार दुग्ध किसानबाट दूध खरिद गरेबापत करिब ६ देखि ७ महिनाको ८५ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न नसकेको, गत आर्थिक वर्षमा स्वदेशमा तरल दूध फालाफाल भइरहेको अवस्थामा भारतबाट दूध आयात गर्न लबिङ गरेको, संस्थानभित्र विभिन्न प्रकारका अनियमितता भेटिएको अभियोगमा महाप्रबन्धक झालाई मन्त्रालयमा तानिएको हो ।
साथै संस्थान सुधार गर्न विभागीय मन्त्री बेदुराम भुसालले पटक–पटक दिएको सुझाव र निर्देशनसमेत कार्यान्वयनमा नल्याएको अभियोग झामाथि लागेको छ । मन्त्रालयले म्याद नाघेको दुग्धजन्य अखाद्य पदार्थसमेत डीडीसीले समयमा नष्ट नगरेको, महाप्रबन्धकको रूपमा उनी आएपछि गत आर्थिक वर्ष २०७८/७९ मा ३७ करोड र आर्थिक वर्ष २०७९/८० मा ६० करोड रुपैयाँ गरी ९७ करोड घाटा डीडीसीले व्यहोर्न बाध्य भएको अभियोग लगाएको छ ।
यस्तै कर्मचारीहरूलाई कडाइका साथ परिचालन गर्न र बजार विस्तार गर्न नसकेको लगायतका अभियोग उनीमाथि छ । झालाई विज्ञको रूपमा मन्त्रालयमा तानिएको हो । २०७८ चैत १४ गते खुला प्रतिस्पर्धाबाट महाप्रवन्धकमा नियुक्त भएका झाको कार्यअवधि आगामी चैत १४ गते सकिँदै थियो ।





