रौतहट : अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले रौतहटको ईशनाथ नगरपालिका–१ बन्जाराहा गाउँदेखि दक्षिणतर्फ दशगजा मिचेर बनाएको बाँध सार्न अझै अटेर गरेको छ । साढे तीन वर्षअघि स्थानीय प्रशासनको आँखा छलेर भारतले झन्डै ७ मिटर दशगजा क्षेत्र मिचेर ड्याम बनाएको हो । नेपालको भूमि मिचेर बाँध बनाएको भारतले स्वीकार गरे पनि सार्न भने आनाकानी गर्दै आएको छ । नेपाल–भारत सीमा बैठकमा यस विषयमा पटक–पटक सवाल उठ्दै आएको छ ।
बाँध मिचेको सार्वजनिक भएपछि रौतहट प्रशासनले तत्कालै गृह मन्त्रालयलाई जानकारी गराएको थियो । त्यसपछि भारतको सिँचाइ विभाग, सर्भे विभाग मोतीहारी प्रशासनका प्रतिनिधि, सीमा सुरक्षा बलसहित रौतहटका सुरक्षा अधिकारीको टोलीले २०७७ असारमा जीपीएस माध्यमबाट सर्भे गरेका थिए । सर्भेबाट दशगजा मिचेको यकिन भएपछि नेपाली पक्षबाट रेखांकनका लागि पाइपसमेत गाडिएको थियो । उक्त स्थानमा भारतले सीमा मिचेर एक पक्षीय रूपमा ड्याम लगाएको छ । त्यही ड्याम सार्न आनाकानी गर्दै आएको हो ।
अन्तर्राष्ट्रिय सन्धिअनुसार नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट ९.१ मिटर भूभाग खाली राख्नुपर्छ । पुस १३ गते सदरमुकाम गौरमा सम्पन्न दुवै देशको सीमा बैठकमा बन्जाराहा बाँधका विषयमा भारतीय पक्षले कुरा उठाउनै चाहेन । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले आफू भर्खरै सरुवा भई आएकाले सीमा मिचेको विषयमा त्यति जानकार नभएकाले कुरा उठाउन नपाएको बताए ।
‘भारतीय पक्षबाट पनि कुरा आएन । म भर्खरै आएकाले सबै कुराको जानकार हुन सकिनँ,’ उनले भने, ‘सीमा मिचेको सबालमा अर्को बैठकमा कुरा उठाएर छलफलको माध्यमबाट समस्याको निकास निकाल्छौं ।’ अन्तर्राष्ट्रिय नाकाबाट हुने आतंकवाद नियन्त्रण, आवतजावत व्यवस्थापन, सीमापार अपराध रोकथाम, दशगजामा संयुक्त सुरक्षा गस्ती, तेस्रो देशका नागरिकबाट हुन सक्ने गैरकानुनी घुसपैठ नियन्त्रणलगायत एजेन्डामा छलफल भए पनि सीमा मिचेको विषयमा भारतले पनि कुरा उठाउन चासो नदेखाएको एक सुरक्षा अधिकारीले बताए ।
यसअघिका बैठकमा मिचेको बाँध सार्न नेपाली पक्षले प्रस्ताव राख्दै आए पनि भारतीय पक्षले कोभिड, बर्खालगायतको समस्या देखाउँदै टार्दै आएको छ । भारतको पूर्वी चम्पारण जिल्लाका तत्कालीन प्रशासन प्रमुख (डीएम) शिरसत कपिल अशोकलाई समेत सीमा मिचेको र हटाउनुपर्ने भन्ने जानकारी थियो । अन्तर्राष्ट्रिय सीमाको कुरा भएकाले केन्द्रीय सरकारबाट आदेश, निर्देशन नआएसम्म केही गर्न नसकिने भन्दै उनी पन्छिएका छन् । रौतहटको वाग्मतीदेखि पश्चिम ३२ किलोमिटर खुला सीमा क्षेत्र पर्छ । भारतले झन्डै ७ किलोमिटरसम्म २५ फिट अग्लो बाँध निर्माण गरेपछि यो क्षेत्र बर्सेनि डुबानको चपेटामा पर्दै आएको छ ।





