जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन्

२०८० पुष २५, बुधबार

काठमाडौँ : अचेल एउटा भिडियो भाइरल छ, जसमा न्युजिल्यान्डकी २१ वर्षे सांसद हाना–रविती माइपी–क्लार्क प्रतिनिधिसभामा अनौठो लबज निकालेर चिच्याउँछिन् । त्यहाँको सात सय वर्ष पुरानो इतिहास बोकेको र पछि आप्रवासी गोराबाट विस्थापनमा परेको माओरी समुदायकी सांसद हानाले खासमा आक्रोशले अर्थहीन तरिकासँग चिच्याएजस्तो लाग्ने त्यो भाषणमा उनको पुस्ता दरपुस्ताले भोग्दै आएको अत्याचारको कथा छ ।

माओरी समुदायको युद्धगीत ‘हाका’ गाउँदै हानाले आफ्ना खोसिएको जमिन, सत्ता र विरासतका लागि लडिरहने भावपूर्ण वाचा न्युजिल्यान्डको संसद् भवन मात्रै होइन, सिंगै संसार गुञ्जिरहेको छ अहिले । गत महिनाको आम निर्वाचनमा न्युजिल्यान्डको इतिहासमा १७० वर्षपछि सबभन्दा तरुण सांसदका रूपमा चुनिएपछि त्यसै पनि चर्चाको शिखरमा रहेकी हाना हालैको हाका गायनसहितको विचारोत्तजक सम्बोधनपछि लगातार इन्टरनेटमा ‘ट्रेन्डिङ’ मा छिन् ।

समाचार एजेन्सीहरूका अनुसार इन्टरनेटमा उनी केही दिनयता सर्वाधिक खोजी गरिनेमा परेकी छन् । चार दिनअघि हानाले संसद्मा गरेको त्यो चर्चित सम्बोधनको सुरुवातमा मतदाता र आफ्नो समुदायका सदस्यलाई सम्झँदै भनेकी थिइन्, ‘म तपाईंहरूका लागि लागि मर्नेछु… अनि म तपाईंहरूकै लागि बाँच्नेछु ।’ त्यसपछि उनले हाका गाएकी थिइन् जसमा वीर र रौद्र रसको विद्युतीय उत्सर्जन हुन पुगेको थियो भने संसद् भवनको दर्शकदीर्घामा आएका माओरी समुदायका मानिसले उस्तै उत्तेजक शैलीमा त्यसलाई गाएर हानालाई सघाएका थिए ।

हातको लयबद्ध चाल, जमिनमा खुट्टाको रौद्र भावको हनाइ, अनुहारको आक्रामक अभिव्यक्ति र गीतको वीरता भाव झल्काउने लयका कारण हाका माओरी समुदायको विश्वव्यापी सांस्कृतिक परिचय भएको छ । तर, हानाका ओठबाट गाइएपछि हाका बितेका केही दिनमा जति चर्चामा आयो, त्यति कहिल्यै आउन सकेको थिएन ।

प्रायः ऐतिहासिक कथा, सांस्कृतिक गौरव र पहिचानको भावना झल्काउन वा शत्रुलाई हाँक दिन गाइने हाकाको एउटै लय र शब्दले सन्दर्भको आधारमा भिन्न अर्थ दिन्छ । हाका एक सांस्कृतिक अभिव्यक्ति हो जसले मानिसलाई आफ्ना पुर्खाहरूसँग जोड्छ र समुदायभित्रको बन्धनलाई बलियो बनाउँछ । यस्तो गहिरो सांस्कृतिक महत्त्व भएको हाकालाई उही आदिम आक्रामकता र रौद्र सौन्दर्यका साथ गाएर हानाले सुझबुझपूर्ण राजनीतिक तरंग ल्याएकी छन् । विविध लय र प्रकारमा बाँडिएको हाका मध्ये ‘इ को ते तु’ लाई हानाले गाएकी थिइन्, जो एकता र आत्मसम्मानका भावहरू जागृत गराउन गाइन्छ ।

माओरी आदिवासी अस्ट्रेलियाका अवोरोजिनझैं अठारौं शताब्दीमा आएका आप्रवासी युरोपेलीद्वारा खडा गरेको उपनिवेश र त्यसले गरेको बर्बरतापूर्ण अत्याचारबाट पीडित भएका थिए । हानाले आफ्ना पुर्खाले भोग्नुपरेको अन्याय, तिनको खोसिएको जमिन र हरण भएको सांस्कृतिक तथा राजनीतिक अधिकारबारेमा जीवनभर लड्ने सार्वजनिक प्रतिज्ञा गरेकी छन् ।

माउरीहरू पोलिनेसियनका वंशज मानिन्छन् । तिनका पुर्खा कुशल नाविक थिए र करिब हजार वर्ष पहिले प्रशान्त महासागर पार गर्दै न्युजिल्यान्ड आइपुगे भन्ने प्रमाण छन् । न्युजिल्यान्डको टापुमा आएपछि अलग्गै पहिचानका साथ संसारबाट अलग भएर बसेका उनीहरू बेलायती तथा अन्य युरोपेलीको आप्रवासनपछि उनीहरूद्वारा अतिक्रमणमा परेका थिए । उनीहरूबीच हिंसात्मक युद्ध हुँदा ठूलो संख्यामा माओरीहरू मारिए । लामो समय चलेको आप्रवासी गोरा र आदिवासी माओरीबीचको हिंसात्मक द्वन्द्वमा हताहतो संख्या विभिन्न क्षेत्र र समयमा फरक–फरक थियो । सन् १९४० देखि ७० सम्म न्युजिल्यान्डमा ठूलो संख्यामा मारिएका थिए । युरोपेलीहरूले भित्र्याएको रोग दादुरा र इन्फ्लुएन्जाको महामारीले पनि माओरी जनसंख्यामा विनाशकारी प्रभाव पारेको थियो ।

पछिल्लो समय न्युजिल्यान्डले माओरीहरू ऐतिहासिक अन्यायमा परेका थिए भन्ने तथ्यलाई स्वीकार गर्दै उनीहरूको गुनासो सुन्ने चासो देखाउन थालेको छ । खासगरी बेलायतका राजा र बेलायती रानी भिक्टोरिया र माओरी प्रमुखहरूबीच सन् १८४० मा ‘ते तिरिती ओ वैतांगी’ (वैतांगीको सन्धि) मा हस्ताक्षर भएको थियो । सन्धिले माओरी भूमि अधिकार र सांस्कृतिक स्वायत्तताको संरक्षण गर्ने प्रतिज्ञा गरेको थियो । तर, वैतांगीको सन्धि कहिल्यै कार्यान्वयन भएन । र, माओरीहरूले खोसिएको जमिन कहिल्यै फिर्ता पाएनन् । त्यसलाई सम्झँदै हानाले गाएको हाकामा ‘१२ लाख हेक्टर जमिन हडपिएको’ भन्ने वाक्यांश समावेश छ ।

औपनिवेशिकताले ल्याएका चुनौती र गरेको अन्यायका बाबजुद माओरी जनताले आफ्नो भाषा, रीतिरिवाज र परम्पराको संरक्षण अनि पुनरुत्थानमा ठूलो मिहिनेत गरेका छन् । ‘ते रे’ माओरी (माओरी भाषा) लाई प्रवर्द्धन गर्ने उनीहरूको पहल ज्यादै कठिन र दमनकारी नीतिबाट सफलतापूर्वक जोगिँदै आएको छ । झन्डै हजार वर्ष पुरानो हाकालाई उनीहरूले प्रत्येक पीढीमा सार्दै आएका छन् । परिणामतः हानाले यति शक्तिशाली भावभंगिमाका साथ गाएर विश्वलाई आफ्नो समुदायले भोगेको ऐतिहासिक वञ्चना र दमनलाई एकै चिच्याहटमा सुनाउन पाइन् ।

न्युजिल्यान्डमा माओरी ९ लाख छन्, जुन कुल जनसंख्याको १६.५ प्रतिशत हो । अल्पसंख्यक भए पनि राजनीतिक रूपले सचेतना बढ्दै गएकाले पछिल्लो समय उनीहरू पहिलेभन्दा बढी संगठित छन् । सन् २००४ मा उनीहरूले माओरी दल पनि खोलेका थिए । हाना सन् २०२३ मा त्यही दलबाट निर्वाचित सांसद हुन् । माओरी र गैरमाओरी समुदायबीचको सामाजिक तथा आर्थिक असमानता न्युजिल्यान्डका लागि लज्जाको विषय हो । माओरीहरू हरेक क्षेत्रमा युरोपेलीभन्दा पछि छन् । माओरीहरू ऐतिहासिक जग्गा जफत र त्यसविरुद्ध आएको वैतांगी सन्धि उल्लंघनको विरोधमा छन् ।

माओरी समुदायका मानिस अक्सर हृदय रोग, मधुमेह र मानसिक रोगसहितको स्वास्थ्य चुनौतीबाट पनि ग्रसित छन् । यसरी, शिक्षादेखि स्वास्थ्यसम्ममा देखिएको असमानतालाई मेटाउन माओरी समुदायलाई मूल प्रवाहमा ल्याउनुपर्ने हानाको विचार छ । स्पष्ट वक्ता हानाको अभिव्यक्ति कलाबाट प्रभावित भई न्युजिल्यान्डका मुख्य राजनीतिक दलले उनलाई आफ्नो सदस्य भई राजनीतिमा अगाडि बढ्न प्रस्ताव गरेका थिए । तर, उनले आफ्नो समुदायको उत्थान गर्न खुलेको माओरी पार्टीलाई नै रोजिन्, जसको स्थापना लेबर पार्टीका पूर्वसदस्य डेम तारियाना टुरिया र सम्मानित शैक्षिक तथा सामुदायिक नेता पिटा शार्पल्सद्वारा भएको थियो ।

विवादास्पद सामुद्रिक जमिनसम्बन्धी ऐनलाई न्युजिल्यान्ड सरकारले सन् २००४ मा ल्याएपछि त्यसको विरोधमा माओरी समुदाय एक हुँदा अलग्गै दलको जन्म भएको थियो । सुरुदेखि नै लागू हुन नसकेको वैतांगीको सन्धिलाई कमजोर बनाउन ऐन ल्याइएकाले आफूहरू त्यसविरुद्ध खुलेर प्रतिकार गर्नुपर्ने भन्दै दलका संस्थापकहरूले माओरी समुदायलाई व्यापक अपिल गरेका थिए । माओरी अधिकारको स्थापना, संस्कृति र भाषाको प्रवर्द्धन तथा संरक्षण गर्नु पार्टीको घोषित उद्देश्य थिए । पार्टीले संसद् र सरकारमा आफ्नो समुदायको कम प्रतिनिधित्व भएको हुनाले त्यसलाई बदल्ने योजना पनि अघि सारेको थियो ।

माओरी दलले आफ्नो प्रारम्भिक वर्षहरूमा महत्त्वपूर्ण चुनावी सफलता हात पारेको पनि थियो । सन् २००५ को आम चुनावमा माओरी दलले न्युजिल्यान्ड संसद्मा चार सिट जितेर आफूलाई एक राजनीतिक शक्तिका रूपमा स्थापित गर्‍यो । संसद्मा आफ्नो उपस्थितिको अवधिमा माओरी गठबन्धन राजनीतिमा संलग्न भयो भने सन् २००८ मा यसले तत्कालीन प्रधानमन्त्री जोन कीको नेतृत्वमा नेसनल पार्टीसँग मिलेर सरकार बनायो ।

यो साझेदारीले माओरी दललाई नीतिगत निर्णयलाई प्रभाव पार्न र सरकारभित्र माओरी हितको वकालत गर्न सक्ने हैसियत पनि दिलाएको थियो । तर, आफ्नो पूरा निर्णय नचल्ने अवस्थामा सत्ताको लोभमा गठबन्धनमा सामेल भएको भन्दै माओरी दलभित्रै ठूलो संख्याका सदस्यले यसको विरोध गरे । परिणास्वरूप सन् २०१४ को चुनावमा माओरीले दुई सिट मात्रै हात पार्‍यो । यो हारबाट पाठ सिक्दै माओरी दलका नेताहरू संगठन निर्माण र समुदाय सचेतीकरणमा जोडतोडका साथ लागे ।

सन् २०२३ को आम निर्वाचनमा माओरी दलले हालसम्मको सर्वाधिक ६ सिट हासिल गरेको छ, जसमा चुनिनेमध्ये एक हाना पनि हुन् । दोस्रो दर्जाको नागरिकको हैसियतमा आफ्ना समुदायका मानिस बाँच्नुपर्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने, सन् १८४० को सन्धि लागू भई खोसिएको भूमि फिर्ता हुनुपर्ने र माओरी भाषा तथा संस्कृतिले राष्ट्रिय महत्त्व पाउनुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार