टीकापुर : मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको ज्यान गएको छ ।
बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना भएको हो । ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ आइरहेका थिए ।
बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो । मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन् भने ढकाल अछामको विनायक बजारमा बिजुली पसल राखेर विद्युतको काम गरिरहेका उनका आफन्त चक्र तिमिल्सिनाले जानकारी दिए ।
मृतकका बुवा मोतीराम ढकालको पनि पाँच वर्षअघि अछाममा बस दुर्घटनामा परी ज्यान गएको थियो ।





