हेटौँडा : नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सिराज फारुकीले गठबन्धन रहेसम्म देशले विकासको गति नलिने बताएका छन् ।
आजबाट हेटौँडामा सुरु भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका फारुकीले गठबन्धनले देशका जनतालाई धोका दिइरहेको भन्दै आफ्नो अधिकार स्थापित गर्दा मुस्लिम समुदाय एक हुनुपर्ने बताए । अहिले गठबन्धनले विकासको गतिलाई रोकेर भागबन्डामा देशलाई अराजकता तर्फ लगिरहेको भन्दै अध्यक्ष फारुकीले देश विकासको लागि एमालेको सरकार आवश्यक रहेको र त्यसको लागि मुस्लिम समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
मुस्लिम समुदायजत्तिको राष्ट्रप्रति वफादार अन्य समुदाय नभएको भन्दै उनले देशको रक्षा र विकासको लागि मुस्लिम इत्तेहाद हातमा हात मिलाएर अघि बढेको बताए । आजबाट सुरु भएको बागमती प्रदेश प्रथम अधिवेशनले बढीमा ३३ सदस्यीय कमिटी निर्माण गर्ने नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपमहासचिव एवम् संगठन विभाग प्रमुख जगुल मियाले बताए । अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र एक उपसचिव सहितको कमिटी चयन गर्ने उनको भनाई रहेको छ ।
अधिवेशनमा बागमतीका १३ जिल्लाका करिब १ सय जना प्रतिनिधिहरू रहेको आयोजकले जनाएको छ ।





