चितवन : भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् ।
ड्राइभिङ स्कुल संघको पाँचौं महाधिवेशनलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए । मन्त्री ज्वालाले भने, ‘आजमात्रै ६ लाख कार्ड ल्याइएको छभने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।’ उनले भने, ‘माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।’
वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताए । उनले भने, ‘स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ ।’ नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा एमालेका भक्तिप्रसाद गौतम, नेपाल किसान महासंघका सचिव भरतप्रसाद फुयाल, संघका अध्यक्ष रामचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीलगायत वक्ताले मन्तव्य राखेका थिए ।
अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभर एक हजार पाँच सय व्यवसायीका तीन सय ५० जना प्रतिनिधि सहभागी छन् ।





