काठमाडौं : इरानले इराकमा रहेको इजरायली जासूस मुख्यालयमा रिभोलुसनरी गार्डले आक्रमण गरेको जनाएको छ । इराकको अर्ध स्वायत्त कुर्द क्षेत्रमा यो हमला गरिएको हो । यो हमला भएको ठाउँ भिआईपी क्षेत्र हो, अलि टाढा अमेरिकी वाणिज्य दूतावास छ।
समाचार एजेन्सी एपीका अनुसार कुर्दिश क्षेत्रीय सरकारको सुरक्षा परिषद्का अनुसार यस आक्रमणमा चार जनाको मृत्यु भएको छ र छ जना घाइते भएका छन्।
रोयटर्सका अनुसार रिभोलुसनरी गार्ड्सले सिरियामा पनि इस्लामिक स्टेट विरुद्ध आक्रमण गरेको बताएको छ । हमास र इजरायलबीच जारी युद्ध क्षेत्रभर फैलिने खतरा रहेको बेला यी आक्रमणहरू भएका हुन्।
रिभोलुसनरी गार्डले आफ्नो विज्ञप्तिमा भन्यो: “यहूदी शासनको हालैको अत्याचारको प्रतिक्रियामा जसमा यसले हाम्रा गार्डहरूलाई आक्रमण गर्यो र हाम्रा कमाण्डरहरूलाई मार्यो, इराकको कुर्दिश क्षेत्रमा अवस्थित मोसाद मुख्यालयलाई ब्यालेस्टिक मिसाइलले ध्वस्त पारेको छ।”
गत महिना इरानले दमास्कसमा इजरायली हमलामा एक शीर्ष इरानी जनरल सेयद राजी मौसावी मारिएको बताएको थियो।





