काठमाडौं : नेपाली कांग्रेसले जिल्ला खटिने केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण दिने भएको छ। केन्द्रीय कार्यालय सानेपामा बुधबार जिल्ला खटिने नेताहरूलाई अभिमुखीकरण दिन लागिएको हो । कांग्रेसले यही माघ ७ गतेदेखि माघ २२ गतेसम्म समुदायमा कांग्रेस अभियान गर्दै छ ।
उक्त अभियानका लागि जिल्ला खटिने प्रतिनिधिलाई अभिमुखीकरण दिन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । गत कात्तिकमा समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी थियो । तर, दसैं–तिहार र जाजरकोट भूकम्पको कारण देखाउँदै कांग्रेसले पुस १५ मा बसेको केन्द्रीय समिति बैठकबाट अभियानलाई माघ ७ देखि २२ सम्मका लागि तय गरेको थियो ।
विश्वकर्माका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने छन् । अभियानमा संगठन सुदृढीकरण, कार्यकर्ता तथा नागरिकका गुनासा र सुझाव लिइने उनको भनाइ छ ।





