चित्लाङ–थानकोट सडकमा बजेट थप गर्न प्रधानमन्त्रीसँग आग्रह

२०८० माघ ३, बुधबार

हेटौँडा : चित्लाङ–थानकोट सडकको स्तरोन्नतिप्रति चासो देखाउँदै मकवानपुरमा जनप्रतिनिधि र दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा सामूहिक रुपमा भेटेर मकवानपुरका जनप्रतिनिधि र दलका नेताहरुले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा आठदेखि १० करोड रुपियाँ बजेट थप गर्न माग गरेका हुन् । मकवानपुरको सांसद महेशकुमार बर्तौलाले सरकारले विनियोजन गरेको बजेट ज्यादै कम भएकाले थप श्रोतको सुनिश्चिततासहित बहुवर्षीय ठेक्का अगाडि बढाउन आग्रह गरिएको जानकारी दिए । उक्त सडक स्तरोन्नतिका गर्न चालु आवमा दुई करोड रुपियाँ मात्र विनियोजन गरी ठेक्का लगाइएको छ ।

थप बजेट सुनिश्चित गर्न माग गरेपछि प्रधानमन्त्री दाहालले चालु आवमा बजेट थप गर्ने प्रतिबद्धता जनाएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए। प्रधानमन्त्रीसँग प्रतिनिधि सभा सदस्य बर्तौला, संविधान सभा सदस्यद्वय रामनारायण बिडारी र सुभाष चन्द्र ठकुरी, नेपाली कांग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका प्रमुख विष्णु विष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पुडासैनी, थाहा नगरपालिका ९ का वडाध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहा नगर कमिटीका सचिव रामकृष्ण बस्नेतलगायतले संयुक्त रुपमा भेट गरेका थिए ।

चित्लाङ–थानकोट सडक खण्डको काठमाडौँको सेतो पहरामा शनिबार चित्लाङतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार