राजश्व अनुसन्धान विभागले गर्‍यो अग्रवालको बौद्ध मण्डला स्टोर सिल

२०८० माघ ५, शुक्रबार

काठमाडौं : राजश्व अनुसन्धान विभागको टोलीले बौद्ध मण्डला स्टोर सिल गरेको छ। शुक्रबार बेलुका बौद्धमा रहेको नरेश अग्रवालको स्टोर सिल गरेको हो।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवाल यस अगाडि पनि राजश्व विभागको अनुसन्धानमा परेका व्यक्ति हुन्। उनी हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा गएराति पक्राउ परेका थिए। ढुंगानाले भने,‘गएराति नरेश अग्रवालको घरमा १ करोड बढी स्रोत नखुलेको रकम फेला परेको थियो। सोही विषयलाई सम्पत्ति शुद्धीकरण, हुण्डी कारोबार र कर छलीको विषयमा पनि अनुसन्धानका लागि बेलुका उनको बौद्धको पसल सिल गरिएको हो।’

राजश्व अनुसन्धान विभागको टोलीले स्रोत नखुलेको २ करोड ३० लाख बढी रकमसहित चारजनालाई पक्राउ गरेको छ। विभागका महानिर्देशक ढुंगानाका अनुसार बिहीबार राती कपडा व्यवसायी अग्रवालको घरमा छापा मारेको थियो।

विभागको टोलीले हुण्डि कारोबारको आशंकामा न्युरोडको मखन गल्लीबाट बिहीबार साँझ दीपक कार्कीलाई ३४ लाख स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो। त्यसपछि कार्कीले दिएको सूचनाकै आधारमा विभागको टोली ताहाचलमा रहेका मोहन साह कहाँ पुगेको थियो। उनको साथबाट ७३ लाख स्रोत नखुलेको रकम बरामद गरेको स्रोतले जनाएको छ।

त्यसपछि कलंकीमा बस्ने विवेक कार्कीलाई २२ लाख रकमसहित विभागको टोलीले नियन्त्रणमा लिएको हो। दीपक, मोहन र विवेकलाई नियन्त्रणमा लिएपछि उक्त टोली मध्यरात ३ बजे कपडा व्यवसायी अग्रवालको घरमा पुगेको थियो। पक्राउ परेका सबैले उक्त रकमको स्रोत खुलाउन नसकेको महानिर्देशक ढुंगानाले बताए। उनले भने,’रकम कहाँबाट कसरी आयो ? भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार