बनेपा : पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।
हिमानीले शनिबार बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी भगवती र पनौती नगरपालिका –५ धनेश्वरमा रहेको धनेश्वर महादेवको विशेष पूजा अर्चना गरेका हुन् । विशेष पूजा अर्चनाका लागि काभ्रेपलाञ्चोक आएका पूर्व युवराज्ञी शाहलाई उनका समर्थकले भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भन्ज्याङबाट मोटरसाइकल र्यालीसहित स्वागत गरेका थिए ।
बिहान करिब साढे १० बजे जिल्ला आएका हिमानीले करिब आधा घण्टा धनेश्वर महादेव मन्दिरमा विशेष पूजा गरेका थिए । धनेश्वर महादेवको पूजा सकेपछि उहाँले मन्दिर नजिकै रहेको धनेश्वर आधारभूत विद्यालयका लागि हिमानी ट्रष्टको तर्फबाट विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरे ।
धनेश्वर महादेवको दर्शन तथा धनेश्वर आधारभूत विद्यालयको निरीक्षणपछि हिमानीले धुलिखेलमा जिल्लाका समर्थकहरूसँग भेटघाट गरे । भेटघाटपछि पूर्व युवराज्ञी शाह ३ बजेदेखि करिब आधा घण्टा बनेपा नगरपालिका –५ स्थित चण्डेश्वरी भगवती मन्दिरमा विशेष पूजा गरेका थिए । चण्डेश्वरीको दर्शनसँगै हिमानीले मन्दिरनजिक रहेको नारायणको दर्शन तथा नारायण रहेको परिसरमा स्थापना गरिएको घण्टको उद्घाटन गरे ।
चण्डेश्वरी मन्दिरको दर्शनसँगै चण्डेश्वरी मन्दिर ज्येष्ठ नागरिक आश्रम निर्माण मूल समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले मन्दिरनजिक निर्माण हुन लागेको ज्येष्ठ नागरिक आश्रम निर्माण सहयोगका लागि मागपत्र प्रस्तुत गरेका थिए ।





