जङ्गली जनावरबाट बाली जोगाउन खेतमा बास

२०८० माघ २१, आईतवार

सर्लाही : सर्लाहीमा जङ्गल छेउछाउ खेतबारी भएका किसानलाई जङ्गली जनावरले हैरान पार्न थालेपछि स्थानीय कृषकहरूको खेतमै बास भएको छ । रातको समयमा विभिन्न जङ्गली जनावर खेतबारीमा आएर तरकारी र अन्य बालीनाली खाइदिँदा किसान मारमा परेका हुन् ।

पछिल्लो समय हरिण, बँदेल, घोडगधा (निलगाई), बाँदरलगायतका जङ्गली जनावरले असाध्य दुःख दिन थालेको किसानले गुनासो गरेका छन् । जङ्गली जनावर धपाउन कतिपय किसान खेतमै रातभर जाग्राम बस्नेगरेका छन् । ईश्वरपुर नगरपालिका –१२, नयाँटोलका किसान भिखारी मण्डलले नजिकैको जङ्गलबाट आउने जङ्गली जनावरले बालीनाली खाएर हैरान पारेको बताए ।

उनका अनुसार जङ्गली जनावरले आलु, प्याज, लसुन, आलस, चना, गहुँलगायतका बालीनालीमा क्षति गर्नेगरेका छन् । “पानी नभएर त्यसै त बालीनाली फल्न छाडिसक्यो, त्यसमाथि जेजति फल्छ, त्यो पनि जङ्गली जनावरले खाइदिएर हैरान पारिरहेका छन्” मण्डलले भने । किसानका अनुसार रात पर्नासाथ जङ्गली जनावर हुल बाँधेर खेतबारीमा आइपुग्ने गरेका छन् । सुक्खापन बढेर जङ्गल क्षेत्र उजाड बनेपछि जङ्गली जनावरले अझ बढी दुःख दिन थालेको किसानको भनाइ छ ।

लालबन्दी नगरपालिका–१५, तल्लो देउरालीका किसान सोमलाल बम्जनले आफूहरूको क्षेत्रमा पनि जङ्गली जनावरले बालीनालीमा क्षति गरेर दुःख दिइरहेको जानकारी दिए । लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती, हरिपुर र बरहथवा नगरपालिकाको जङ्गल छेउछाउका बस्तीमा जङ्गली जनावरको बढी आतङ्क रहेको उनले बताए ।

जङ्गलबाट निस्किएका जङ्गली जनावर उखु बारीमा बसेर तरकारी र अन्य बालीनालीमा क्षति गर्ने गरेको स्थानीय किसानले बताएका छन् । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख (डीएफओ) मन्जुर अहमदले बँदेल र नीलगाईले कृषि बालीमा बढी नै दुःख दिइरहेको बताए । “मानव हस्तक्षेप र अतिक्रमणले वन क्षेत्र साँघुरिएपछि वन्यजन्तु किसानको खेतबारीमा निस्किन थालेका छन्” डिभिजन वन प्रमुख अहमदले भने , “जङ्गली जनावरमा पनि खानेकुराको स्वाद फेरिएको छ, त्यसैले कृषि बालीमा धेरै पल्किएको देखिन्छ ।”

डिभिजन वन कार्यालयले हिजोआज वन क्षेत्रमा दाउरा तथा घाँस खोज्न जानेहरू जताततै छ्यापछ्याप्ती रहेकाले पनि सीमित मात्रामा रहेका वन्यजन्तु तर्किएर किसानको खेतबारी र बस्तीमा निस्कन थालेको जनाएको छ ।

डिभिजन वन प्रमुख अहमदले अन्य जङ्गली जनावरको तुलनामा निलगाई र बँदेलले धेरै दुःख दिन थालेको बताए । उनले जिल्लाको सीमावर्ती क्षेत्रमा भारततर्फबाट समेत जङ्गली जनावर यता आउनेगरेको बताए । वनकर्मीले वन्यजन्तुको संरक्षण र किसानको बालीनाली जोगाउनु दुवै आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार