हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ: राष्ट्रपति पौडेल

२०८० फाल्गुन २, बुधबार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्य सहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताएका छन्। पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले कसैलाई पनि निषेध गर्न नहुने बताए।

‘हामीले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहन्छौं। यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ। सबैलाई एकतावद्ध गरेर बन्छ। सबैलाई बराबरी सम्मान दिएर बन्छ। आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौं,’ उनले भने।

नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएको र यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यवद्धता देख्न सकिने पनि उल्लेख गरेका थिए।

‘हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौं। यो भूमी हाम्रा विभूती महागुरु फाल्गुनन्दको भूमी हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणको लागि यही साधना र संघर्ष गर्नु भएको थियो । उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ। उहाँले स्थापना गर्नुभको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहने छ,’ उनले भने।

संघीय लोकतान्त्रिक गणतन्त्रले समावेशी, उदार, एकतावद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको उनले बताए। राष्ट्रपति पौडेलले देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार