काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले बजेट कार्यान्वयन पक्ष कमजोर रहेको बताएकी छन्। नेपाल सरकारले बजेट कसरी खर्च गर्ने र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनले बताइन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले भनिन्, ‘प्रदेशमा १५ देखि २० प्रतिशतमात्रै बजेट खर्च भयो भन्ने आएको छ। कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगे पनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाएका छैनन्।’
उनले सहकारीको समस्या समाधान गर्न आग्रह गरेकी छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपाल सरकारलाई दुग्ध किसानको भुक्तानीसम्बन्धी निर्देशन दिएको र त्यसको कार्यान्वयन पक्ष कहाँ पुग्यो भनेर सरकारलाई ताकेता गरिदिन पनि उनले सभामुखमार्फत् आग्रह गरेकी छन्।





