काठमाडौँ : नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आम नागरिकले महसुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको बताएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरे लगत्तै बुधबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारेका हुन्। उपप्रधानमन्त्री लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महसुस गर्न सक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको सुनाए।
‘तपाईँहरूले यो मञ्चमा धेरै जना मन्त्रीहरुलाई स्वागत गरिसक्नुभएको छ। पहिलाका मन्त्रीज्यूहरूले आफ्ना कुरा राखिसक्नुभएको छ। त्यसैको एउटा निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेका चाहिँ होइन। जे चलिरहेको छ, त्यो चलिरहनु भन्दा अलि फरक किसिमले आम नागरिकले महसुस गर्न सक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका साथ यो चुनौतीका लागि हामी यहाँ उपस्थित भएको हौ, आएका हौं। यसै कारण यो जिम्मेवारी लिने निधो गरेको हुँ। आपसी सहयोग, आपसी सहकार्यमा हामी राष्ट्रका सामु देखिएका चुनौतीहरूलाई सामना गर्न सक्षम हुन्छौं भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त छु।’ उनले भने।





