काठमाडौँ : पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनैपनि दाग नलागेको बताएका हुन्। उनले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको बताए। उनले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको बताए। उनले मन्त्रीको रूपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको बताए। प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनले बताए।
उनले भने, ‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीको आवश्यकता छ। यो जटिलतामा सङ्कट मोचनका निम्ति, ढुङ्गालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीको जरुरी छ। प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ। म भन्दा पनि अनुभवी हुनुहुन्छ उहाँहरू। मन्त्रालयबाट निस्किँदा म खुसीसाथ निस्किन पाएँ। किनकि म बेदाग फर्किएँ। ममाथि दाग लागेन। एक वर्षमा मैले धेरै काम गरेको छु। त्यसको परिणाम निस्किने बेला भइसकेको छ।’
पूर्व मन्त्री किरातीले सरकारले विश्वासको मत पाउने पनि बताए।





