काठमाडौं : नयाँ सत्ता समीकरणले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच मेलमिलापको ढोका खुलेको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षअघि तोडेको एमालेसँगको सहकार्यलाई जोडेसँगै ओली–नेपालबीचको सम्बन्ध सुधारका लागि ढोका खुलेको हो। एमालेसहितको नयाँ गठबन्धन सरकारमा सहकार्य शुरू गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको श्वास गन्हाउँदै आएको एमालेलाई पाछिल्लो समय पार्टीको स्वासमा बास्ना आउन थालेको टिप्पणी गरेका छन्।
पार्टीको काभ्रे जिल्ला अधिवेशन उद्घाटन गर्ने क्रममा नेपालले हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने वातावरण बन्दै गएको बताएका थिए। उनले भने– ‘अहिले फेरि हिजो एमाले एकीकृत समाजवादी भएको ठाउँमा बस्नै नसक्ने, श्वास नै गन्हाउने स्थिति थियो । अहिले बास्ना आउन थालेको छ । त्यस्तो हुन्छ । कटुता भएको बेलामा मन पर्दैन । अविश्वास बढेको बेलामा शंका हुन्छ । तर, तपाईंहरूले सुन्नुभएकै छ राजनीतिमा कहिले पनि स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैन । यो कुरालाई ध्यान दिनुपर्छ ।’
उनले प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ गठबन्धनमा सहभागी भएको उनको भनाइ छ। एक अर्काप्रति कटु आलोचनामा उत्रिँदै आएका ओली–नेपाल फागुन २१ पछिको नयाँ सरकारमा सँगै छन्। तर, माओवादी अध्यक्ष प्रचण्डले १० पुस २०७९ मा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमतसहितको गठबन्धन गर्दा माधव नेपालको पार्टी सहभागी थिएन।
प्रधानमन्त्री प्रचण्डले २ महिनामै गठबन्धन परिवर्तन गरेर एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, जसपासहितको आठ दलीय समीकरणमा १४ महिना सरकार चलाउनुभयो। एमालेको सहयोगमा गत फागुन २१ कांग्रेसँगको गठबन्धन तोडेर पाँच दलीय मोर्चाबन्दीमा सरकार पुनर्गठन प्रक्रियामा माधव नेपालसमेत सामेल भएपछि ओली–नेपालबीचको पुरानो तिक्ततालाई विस्तारै मत्थर गर्दै जाने र पार्टी एकतासम्म पु¥याउन सकिने दुवै दलका नेताहरूले बताएका छन्। कुनै बेला माधव नेपालको नाम लिएपछि मुख कुल्ला गर्छु भन्ने ओली यो गठबन्धनमा बहुमत पु¥याउन सहयोगको आग्रह गर्दै माधव नेपालको घरमा पुग्नुभएको थियो । तर, पछिल्लो समय एमालेका नेताहरूले पनि विगतको समिक्षा गर्दै वामपन्थी शक्तिहरू एकाकार हुनु जरुरी रहेको बताएका छन्।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिमा सधैं असहिष्णुता कायम राखेर जाँदा मुलुक र जनताका पक्षमा काम गर्न नसकिने जिकिर गर्दै भने–‘राजनीतिमा दलहरूबीच मात्र होइन कतिपय सन्दर्भमा एउटै दलका नेताहरूबीच समेत खटपट हुन्छ। त्यसबेला एक अर्काप्रति आरोप प्रत्यारोप पनि हुन्छन । तर, सधैंभरी त्यस्तो अवस्था रहँदैन। मुलुक र जनताको हितका लागि दलहरूबीच कार्यगत एकता आवश्यक हुनेहुँदा अहिले एमाले र नेकपा एसबीच सोही कुरालाई दृष्टिगत गर्दै अघि बढेका छौं। वामपन्थी कम्युनिस्टहरूबीचको एकताका पक्षमा एमाले सधैं खुल्ला छ।’
२०७४ को निर्वाचनमा कार्यगत एकता गर्दै २०७५ मा पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएका एमाले–माओवादी नेताले २ वर्षमै फुटको बाटो रोजेका थिए। संसदमा दुई तिहाइ प्राप्त गरेको शक्तिशाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनगरेसँगै त्रिशंकु बनेका बोलचाल नै बन्द गरेका नेताहरूबीच फेरि कार्यगत एकताका प्रारम्भ भएको छ ।
यसले फेरि पनि कम्युनिस्ट एकतालाई बल पुर्याएको वाम विश्लेषकहरू बताउँछन्। पार्टी फुटको बेला नेकपा माओवादी पुरानै अवस्थामा फर्किएको थियो भने माधव नेपाल समूहले नयाँ पार्टीको परिकल्पना गरेर २०७८ भदौ १० मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरी अघि बढेको थियो।
त्यसयताको सबै समय एकअर्कालाई गाली गर्नमै समय खर्चेका दुई नेताबीच एक्कासी भएको सत्तासहकार्यलाई पार्टी एकतासम्म लैजान दुवै दलका नेता कार्यकर्तातले सुझव दिएका छन् ।नेपाल समाचारपत्र





