काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदीप यादवले भन्सार नीतिमा व्यापक संशोधनको आवश्यकता रहेको बताएका छन्।प्रतिनिधिसभामा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद यादवले हुकुमी शैलीमा चलिरहेको भन्सारलाई समयसापेक्ष र आवश्यकताअनुसार नीतिगत रूपमा व्यवस्थित गर्नुपर्ने बताए।
यादवले अवैध कारोबारलाई प्रोत्साहित गरिरहेको पेनाल्टी प्रावधान हटाउन पनि माग गरे। ‘आयातकर्ताले भन्सार मूल्यको पुस्तिकाभन्दा कम मूल्यको बिलबिजक पेस गरेमा भन्सारले ५० प्रतिशत पेनाल्टी तोक्छ। आव ०८०/८१ को बजेटमा अन्तःशुल्कमा समेत पेनाल्टी लिने प्रावधान राखिएको छ। पेनाल्टी जोगाउन आयातकर्ताले भन्सार किताबभन्दा बढीको बिलबिजक पेस गर्छन् र सोहीअनुसार एलसी पनि खुल्छ । जसले गर्दा नेपाली भन्सारमा पेनाल्टी लाग्दैन,’ उनले भने, ‘तर, अर्कोतिर बिलबिजकको वास्तविक मूल्यभन्दा बढी पठाएको रकम अवैध हुण्डीको माध्यमबाट नेपाल फर्किन्छ । तसर्थ भन्सार मूल्यांकन किताब तथा अन्तःशुल्कमा लगाएको पेनाल्टी गर्दा अवैध कारोबारलाई प्रोत्साहित गरिएको देखिन्छ । यसकारण पेनाल्टी लिने प्रावधान हटाउन जरुरी छ।’
सांसद यादवले स्वदेशी उद्योग प्रवर्द्धनमा पनि वर्तमान कानुन बाधक रहेको बताए। ‘स्वदेशी उद्योगको प्रोत्साहन गर्नु छ भने पहिलो त डिप्टीमा फरक राख्नुपर्छ। हाम्रो भन्सारमा कच्चा पदार्थको डिप्टी महँगो छ, तयारी पदार्थमा सस्तो छ। यसको कारण स्वदेशी उद्योग पनि डुबिरहेको छ,’ उनले भने, ‘उदाहरणको रूपमा काँचो दाल (गोरो/मसुरो)मा १० प्रतिशत भन्सार लाग्छ। तर, तयारी दालको रूपमा आउँछ भने ९ प्रतिशत भन्सार लाग्छ। अनि स्वदेशी उद्योग कसरी बढावा भयो ? कच्चा पदार्थ आउँदा १० प्रतिशत कर लाग्ने, तयारी सामान आउँदा ९ प्रतिशत लाग्ने हुँदा स्वदेशी उद्योग त डुब्छ।’
भारतबाट नेपालमा धान आउँदा भारतलाई २० प्रतिशत कर तिर्नुपर्ने र ५ प्रतिशत नेपाली भन्सारमा कर लाग्ने भन्दै यादवले २५ प्रतिशत तिरेर नेपालमा धान आयात गरेर उद्योगीले चामल उत्पादन गरेर विक्री गर्दा महँगो हुने गरेको बताए। ‘यसकारण अहिले तस्करलाई मजा भएको छ। भारतमा प्रत्येक केजी चामलमा ५ रुपैयाँ सस्तो छ। भारतमा सस्तो भएकाले सीधा बोर्डरबाट खुलेयाम तस्करी गरेर नेपाल ल्याइँदै छ,’ उनले भने।
सांसद यादवले सानो सानो वस्तुमा तस्करीकै माध्यमबाट भित्रिँदा अपेक्षित राजस्व संकलन हुन नसकेको बताए। ‘जस्तै काजुको कुरा गर्ने हो भने नेपाली भन्सारमा प्रति केजी ६ सय रुपैयाँ भन्सार लाग्छ। त्यही काजु प्रत्येक केजी सय रुपैयाँमा तस्करहरू काठमाडौं पुर्याइरहेको छ। मलाई जहाँसम्म याद छ, माननीय अर्थमन्त्रीज्यू जुन काजु खानुहुन्छ, त्यो तस्करले काठमाडौं पुर्याएको काजु नै खानुहुन्छ। हामी पनि काठमाडौं बसेर खान्छौँ । किनकि काजुको भन्सार भइरहेको छैन। अर्थमन्त्रीजीले कर्मचारीबाट तथ्यांक लिए हुन्छ। जुन पनि काजु आइरहेको छ, त्यो सबै तस्करी भएर आइरहेको छ। भुजिया, काजुलगायत सानो सानो सबै तस्करीमा आइरहेको छ,’ उनले भने।
सांसद यादवले तस्करी नियन्त्रण हुने गरी भन्सार नीतिमा संशोधन गर्न अर्थमन्त्रीलाई सुझाव दिए। ‘भारतमा ४ देखि २८ प्रतिशतसम्म रहेको जिएसटीलाई आधार मानेर कर निर्धारण गरौँ । भारतमा ४ प्रतिशत कर छ, तपाईं १३ प्रतिशत लिनुहुन्छ भने निश्चित रूपमा तस्करी हुन्छ। यस्तो नीतिले तस्करलाई बढावा दिइरहेको छ। यसमा अर्थमन्त्रीले गम्भीर रूपमा विचार गरेर संशोधन गर्नुपर्छ,’ उनले भने।





