काठमाडौं : सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बिहीवार पनि बयान लिइएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजे सम्म तीन घण्टा बयान लिइएको हो ।
महरासँग बुधवार पनि चार घण्टा बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुखसमेत रहेका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठका अनुसार बुधवार र बिहीवार गरी कुल सात घण्टा बयान लिइएको हो । बयानका क्रममा पूर्वसभामुखसमेत रहेका महरा भक्कानिएर रोएको स्रोतले बताएको छ । रुँदै उनले आरोप अस्वीकार गरेका थिए । ‘नखाएको विष लाग्यो,’ बयानका क्रममा उनी भक्कानिएका थिए ।
‘बुधवार र बिहीवार गरी कुल सात घण्टा बयान लिइएको छ,’ श्रेष्ठले भने,’ अब शुक्रवार म्याद थपका लागि अदालतमा पेश गरिन्छ ।’ सुन तस्करीसम्बन्धी गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनकै आधारमा अनुसन्धान अधिकारीले महरालाई प्रश्न सोधिरहेको उनले बताए । विद्युतीय चुरोट भेपमार्फत भएको ९ किलो सुन तस्करीलगायत प्रकरणमा महराले जोडिएको आरोप छ । महरा गत सोमवार पक्राउ परेका थिए ।





