राहत शिक्षकमा दरबन्दी दिने जिल्ला शिक्षा अधिकारीलाई तीन महिना कैद

२०८० चैत्र १२, सोमबार

काठमाडौँ  : धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतले उनीसमेत दुईजनालाई गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै सजाय सुनाएको हो। विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६ महिनाअघि दायर मुद्दामा यस्तो फैसला गरेको हो। विशेषका अनुसार जिल्ला शिक्षा अधिकारी मण्डललाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ।

उनले मिलेमतोमा बदनियतपूर्वक ६ असोज २०७१ मा निलमकुमारी यादवलाई अस्थायी करार नियुक्तिको अवधि समाप्त भएको भनी विस्थापन गरी भोलिपल्टै राहत शिक्षकमा पदस्थापन गरेका थिए। धनुषाको भानु उमावि किसनपुरकी शिक्षिका यादवलाई मिथिलाबिहारी नगरपालिका– ९ स्थित रामजानकी प्राथमिक विद्यालयमा पदस्थापन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

अनुसन्धान हुँदा शिक्षिका यादवले भानु उमाविमा नक्कली नियुक्तिपत्र बनाई त्यसैको आधारमा पदस्थापना भएको भेटिएको थियो। जसपछि नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको दाबीसहित २ असोज २०८० मा विशेषमा मुद्दा दर्ता भएको थियो। यसमा शिक्षिका यादव पनि दोषी ठहर भएकी छिन्। उनलाई भने एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना भएको विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले बताए।

यादवको नियुक्तिपत्रको सक्कल प्रति र नियुक्तिसँग सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय माग्दा उनले पेस गर्न सकेकी थिइनन्। ८ वैशाख ०७१ को नियुक्तिदेखि विस्थापनको तलब खाएको पनि देखिएको थिएन। जसपछि विशेषको इजलास उनले नक्कली नियुक्तिपत्र पेस गरेको निष्कर्षमा पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार