काठमाडौं : बैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीले हिस्सा खोजेको छ । इलाम- २ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाका लागि निर्वाचन हुँदैछ ।
गठबन्धनमा नेकपा एकीकृत समाजवादीले प्रदेशसभाअन्तर्गत बझाङमा दाबी गरेको छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले उपनिर्वाचनबारे चासो राखेको छैन । प्रधानमन्त्री प्रचण्डलाई सत्ता टिकाउन गठबन्धनका सबै दल मिलाएर जानुपर्ने भएकाले उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले हतारो नदेखाएको बताइन्छ । बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि अध्यक्ष नेपालले आफ्नो अडान सुनाए ।
प्रचण्ड र ओलीसँग संवादमा रहेका नेपालले चेतावनीको शैलीमा भने, ‘हामी मानसिक रुपमा दुवै ठाउँमा उम्मेदवारी दिनुपर्छ भन्नेमा छौं । बझाङमा त दिन्छौं नै । त्यहाँ कसैले हामीलाई रोक्न सक्दैन ।’ एमालेले आइतबार इलाम- २ मा सुवास नेम्बाङका कान्छा छोरा सुहाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । गठबन्धनमा आवद्ध रवि लामिछाने नेतृत्वको रास्वपाले एक्लै लड्ने निर्णयसहित तयारी थालिसकेको छ ।





