पौडी खेल्न नजान्दा कर्णाली नदीमै बिलाए लोकेन्द्र

२०८० चैत्र १३, मंगलवार

चिसापानी : सोमबार दिउँसो कर्णाली पुलमा भीडभाड थियो। होलीको रङमा रंगिएकाहरू पुलमा फोटो सेसन गर्दै थिए। त्यसैबीच युवाको एक हुल मिसिन आइपुग्छ।

क्षणभरमै एकपछि अर्को गर्दै १७ जना युवक कर्णाली पुलबाट धमाधम नदीमा हाम फाल्छन्। सयौँ मानिस भए पनि उनीहरूलाई रोक्ने आँट कसैले गर्दैन। बरु कर्णालीमा हेलिएको दृश्य मोबाइलमा कैद गरिरहन्छन्। कर्णाली पुलनजिकै इलाका प्रहरी कार्यालय (चिसापानी) छ। युवाहरू कर्णालीमा हेलिरहँदा प्रहरीले पनि रोक्न नसकेको भन्दै अहिले आलोचना भइरहेको छ।

२०/२५ जनाको समूहमा रहेका युवाहरू बजारमा होली खेल्दै थिए। शरीरको माथिल्लो भागको कपडा फुकालेर नांगै। निथ्रुक्क भिजेका थिए। उनीहरूलाई पुलमा जाँदै गर्दा ड्युटीमा खटिएका प्रहरीले रोक्छन्। तर उनीहरू अटेरी गर्दै पुलतर्फ अघि बढ्छन्। साथीहरूसँग धेरैपछि भेट भएकाले सामूहिक तस्बिर खिचेर फर्किने भन्दै। होलीमा रमाइलो गर्दै मापसेको तालमा जोसिएर उनीहरू कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेल्छन्।

त्यसरी कर्णाली पुलबाट नदीमा हाम फाल्नेमध्ये एक हुन्- कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही। ‘उनी खासै पौडी खेल्न नजान्ने रहेछन्। साथीहरूले हाम फालेको देखेर बचाइहाल्लान् भनेर उनले पनि हाम फालेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालयका एक जना प्रहरी अधिकारी भन्छन्, ‘हामीलाई हाम फालिरहेको जानकारी थिएन। डुबेको खबर आएलगत्तै खोजी थालिएको थियो। तर अहिलेसम्म अवस्था अज्ञात छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार