पूर्वराजा जुम्ला जाँदै, खलंगामा नागरिक अभिनन्दन गरिने

२०८० चैत्र १८, आईतवार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो चैत २४ गते जुम्ला जाने भएका छन् । जुम्लाको सदरमुकाम खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आज एक पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमणबारे औपचारिक जानकारी गराए । उनले राप्रपामात्र नभएर सबै दलमा आस्था राख्ने जुम्ली जनताले पूर्वराजाको भव्य स्वागत गर्ने बताए ।

शाहीले भन्छन्, ‘राजा सबैको साझा हुन्छन्, चाहे पूर्व होउन् वा वर्तमान । राजा कुनै दलको हुँदैन । त्यसैले जुम्लामा गठन गरिएको अभिनन्दन समितिमा राप्रपाको कुनै पनि सदस्य हुनुहुन्न । माओवादी, कांग्रेस, एमाले, नेकपा एस, रास्वपा सबै दलका समर्थकले उहाँलाई स्वागत गर्नेछन् ।’

आफू जुम्लाको एक सांसदका हैसियतले पूर्वराजाको भ्रमण सफल पार्न लागेको उनले बताए । उनले थपे, ‘कालान्तरमा पूर्वराष्ट्रपति जुम्ला आउनुभयो भने पनि एक सांसदका हैसियतले म एयरपोर्टमा स्वागत गर्न जानुपर्छ । स्वागत मात्र होइन, भेटघाटदेखि हरेक कुराको व्यवस्थापन गर्नुपर्ने कर्तव्य हुन्छ ।’ पूर्वराजालाई ‘राजा’ किन भनेको भनेर पत्रकारले सोधेको प्रश्नमा शाहीले राजा कहिले पनि पूर्व नहुने स्पष्ट पारे ।

‘म राप्रपाको प्रवक्ता हो । राप्रपाले संवैधानिक राजसंस्थाको वकालत गर्छ । राजा ल्याउने राप्रपाको एजेन्डा हो । त्यसैले राजा भन्न मलाई कुनै हिच्किचाहट छैन । दोस्रो, राजा कहिले पनि पूर्व हुँदैन । पूर्वराजा उहाँ हो भने वर्तमान राजा देखाइदिनुपर्यो । राजा भनेको शक्ति र सत्ता होइन, आस्था हो । अहिले देश अभिभावकविहिन भएको छ । राष्ट्रपति एउटा दलको प्रतिनिधि मात्र हो ।’

पूर्वराजाले जुम्लाको चन्दननाथ र भैरवनाथको दर्शन गर्ने पनि शाहीले जानकारी गराए । उनले सबै जुम्ली जनतालाई उपस्थितिका लागि आह्वान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार