पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई उनले राजीनामा पत्र बुझाएका हुन् । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । सत्ताको बागडोर जोगाउने पहलमा लागेका मुख्यमन्त्रीले ठूला दलको हैसियतमा सरकार बनाउने लक्ष्यका साथ राजीनामा दिएका हुन् ।
गण्डकी प्रदेशमा सत्ता जोगाउन निकै कसरत गरेका उनले बहुमत नपुगेपछि ठूलो दलको हैसियतमा सरकार बनाउने मार्गमा पुगेका हुन् । तर, पाण्डेलाई त्यो पनि सहज भने हुने छैन । राजीनामा बुझाएलगत्तै प्रदेश प्रमुखसँगको छलफलमा पाण्डेले परम्पराबमोजिम एक हप्ताभन्दा बढी समय नदिन आग्रह गरेका थिए । उनको आग्रहअनुरूप प्रदेश प्रमुखले अब चैत्र २७ गते दिउँसो ३ बजेभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका छन् ।
बहुमतको सरकार बनाउन अब गण्डकीमा एमाले–माओवादीका लागि ६ दिनको समय रहेको छ । राप्रपाको २७ गतेसम्म आन्दोलन भएकाले तत्कालै सरकारमा जाने योजना नहुँदा गण्डकीमा एमाले–माओवादी सरकार बन्न कठिन छ । यदि, एमालेले बहुमत ल्याउन सकेको खण्डमा भने खगराज अधिकारीको ढोका खुला हुनेछ । यद्यपि, ठूलो दलको नेताको हैसियतले धारा १६८ को उपधारा ३ बमोजिम फेरि मुख्यमन्त्रीको शपथ खान पाइन्छ कि भन्ने आशामा मुख्यमन्त्री पाण्डेले एक दिनअगावै राजीनामा बुझाएका हुन्।
गण्डकीमा राप्रपा निर्णायक छ । समाजवादीबाट दीपक मनाङेलाई अलग्याएर मन्त्री दिएका पाण्डेले राप्रपाका दुई सांसदलाई समेत मन्त्री बनाउने योजनाअनुसार अघि बढेका थिए । चैत २७ गतेसम्म राप्रपा आन्दोलनमा भएकाले आफूले विश्वासको मत नलिई राजीनामाको बाटो रोजेको पाण्डेले नै बताएका छन् । राजीनामापश्चात् पाण्डेले मुलुकको नेतृत्व नै अस्थिरताको कारक बनेको आरोप लगाए । ‘पहिलाको संविधानमा भएका भन्दै केही संसदीय प्रक्रियालाई स्थिरता दिनेखालको बनाउनुपर्छ भनेर २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने, अविश्वासको प्रस्ताव पारित भएको थियो । एक वर्षभित्र फेरि ल्याउन नपाउने भन्या स्थिरताका लागि ग¥या काम हो’, मुख्यमन्त्री पाण्डेले भने– ‘संविधानबाट स्थिरता त ल्याउन खोज्यौं । तर, जसले स्थिरता कायम गर्नुपर्ने हो अथवा मुलुकको नेतृत्व जसले गर्ने हो उनी नै अस्थिर बनेको कारण समस्या ज्यूँकात्यूँ रह्यो ।’
६०सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको आवश्यकता पर्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका २७ सांसद छन् । यसै गरी एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एकजना स्वतन्त्रबाट जितेर समाजवादी प्रवेश गरेर फेरि स्वतन्त्रमै फर्कनुभएका राजीव गुरुङ (दीपक मनाङे) छन् । पाण्डेले राप्रका २, दीपक मनाङे र माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादीका सांसद फणिन्द्र देवकोटाको मत तान्न प्रयासरत छन् । तर, राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन । राजीव गुरुङ कांग्रेस नेतृत्वकै सरकारमा यही चैत ५ मा मन्त्रिपरिषद्मा सामेल भइसकेका थिए । तर, उनको अस्थिरताले जुनसुकै बेला जसलाई पनि समर्थन गर्ने बुझाइ दलहरूको छ । त्यसकारण उनको विषयमा ढुक्क हुने अवस्था दुवै पक्षलाई छैन । देवकोटालाई माओवादी संसदीय दलको ह्विप लाग्ने भएकाले उहाँको पनि पाण्डेले साथ पाउने अवस्था तत्काललाई देखिँदैन ।





