सिद्धार्थनगर : रुपन्देहीको बुटवलमा अर्को पनि केबुलकार सञ्चालन हुने भएको छ । एक महिनाभित्रै अर्को नयाँ केबुलकार ‘सिद्धार्थ केबुलकार’ सञ्चालन हुने भएको हो । यसअघि बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबुलकार ‘बुटवल हिल्स’ सञ्चालनमै छ । नयाँ वर्ष २०८१ को वैशाखदेखि सिद्धार्थ केबुलकार पनि सञ्चालन गर्ने तयारी अन्तिम चरणमा छ ।
बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ र २ स्थित देउरालीडाँडामा केबुलकारको प्रस्थान बिन्दु राखिएको छ । १.९४ किलोमिटर लम्बाइको यो केबुलकार पाल्पाको नुवाकोटसम्म जाने छ । हालसम्म ९० करोड रुपियाँ लगानी भइसकेको र रिसोर्टसहितको परियोजना पूरा हुँदा यसको कुल लागत डेढ अर्बमाथि पुग्ने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङले बताए। अबको डेढ महिनाभित्र केबुलकार सञ्चालन गर्ने तयारी अनुसार अन्तिम चरणका काम भइरहेको उनले बताए ।
मङ्सिरमा केबुलकार सञ्चालन गर्ने तयारी भए पनि रोपवेको काम नभएपछि मङ्सिरमा केबुलकार सञ्चालन हुन नसकेको उनको भनाइ छ । ‘इटालीबाट रोप ल्याउँदा समय लाग्यो, अहिले परीक्षणमा छौँ, यसलाई ‘इन्टरनेसनल सटिफिकेसन’ गरेपछि वैशाख महिनाभित्र सुरु गर्छौं’ उनले भने । गुरुङका अनुसार अहिले केबुलकारको परीक्षण गर्ने काम भइरहेको र संरचनाको फिनिसिङको काम भइरहेको छ । केबुलकारको प्रस्थान बिन्दु (पहिलो स्टेसन) देउरालीडाँडामा मनोरम सिद्धार्थ गार्डेन, छ वटा कमलका फूलसहितको पार्क निर्माण गरिएको छ । माथिल्लो स्टेसन नुवाकोटमा सातौँ पाइलासहितका संरचना निर्माण भइसकेको छ । त्यहाँ ५० फिट अग्लो सिद्धार्थ गौतमबुद्धको मूर्ति निर्माण हुन बाँकी छ । मूर्ति तयार भइसकेको र त्यसलाई जडान गर्न बाँकी रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
दुई वर्षमा सञ्चालन गर्ने भनिए पनि रुख कटानसहितका अन्य कामले केबुलकार निर्माण चार वर्षमा पूरा हुन लागेको हो । केबुलकार निर्माणको करिब ९५ प्रतिशत काम पूरा भइसकेको केबुलकार प्रालिले जनाएको छ । नुवाकोटमा रिसोर्टसहितका अन्य पूर्वाधार निर्माण हुने छन् । पाल्पाको नुवाकोट गढीसम्म पुग्ने सिद्धार्थ केबुलकारको २०७७ फागुन ९ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । केबुलकार सञ्चालनपछि बुटवलको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी माधव नेपालको भनाइ छ ।
नुवाकोट विकास समितिका अध्यक्ष एवं केबुलकार सञ्चालक समितिका सदस्यसमेत रहनुभएका नेपालले बुटवलको आर्थिक चलायमान र यहाँको पर्यटन प्रवर्धन हुने विश्वास गरे । सिद्धार्थ केबुलकारमा बुटवल क्षेत्रकै १८५ भन्दा बढी लगानीकर्ता हुनुहुन्छ । देउरालीडाँडादेखि दुई किलोमिटर केबुलकारको सात मिनेटको यात्रापछि नुवाकोट पुग्न सकिने छ । यस केबुलकारको निर्माणपछि प्रत्यक्ष रूपमा ६० जना र अप्रत्यक्ष रूपमा १५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दाबी छ । पाल्पाको नुवाकोट बुटवलको वडा नं १ र १३ को शिवालिक चुरे शृङ्खलाको पानी ढलको भूभाग हो । यो ऐतिहासिक र पुरातात्विक स्थल हो । कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चाबन्दी गरेर अङ्ग्रेजलाई परास्त गरेका थिए । नुवाकोटको पूर्वी भाग पाल्पाको दोभान क्षेत्र एक करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो ।
मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकाले केबुलकारको सञ्चालनपछि नुवाकोटको विकासमा समेत टेवा पुग्ने छ ।





