लगातार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

२०८० चैत्र २७, मंगलवार

काठमाडौं : नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। गत आइतबारदेखि लगातार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।

यसअघि सोमबार (हिजो) हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार