काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने बताएका छन्। ‘इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ। विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने हुन्छ। त्यसबेला बजेट छैन भन्ने कुरा आउँछ।
नागरिकको ज्यान जोगाउने कुरा हो,’ राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भने, ‘बजेट छैन भनेर नै विपद् र जोखिम न्यूनीकरण गर्ने विषयमा त्यस्तो विपद आउँदा तत्काल उद्धार गर्नेहरु लामो समयसम्म थन्किएका छन्। प्राथमिकता के हो त्यसमा ध्यान दिनुपर्छ। सरकारका तर्फबाट प्रयास गरी नै रहेका छौँ। एकीकृत प्रणालीको अभ्यास गरिरहेका छौँ।’
उपप्रधानमन्त्री लामिछानेले क्षति न्यूनीकरणको पूर्वतयारीमा जोड दिनुपर्ने बताए। ‘विपद् व्यवस्थापनका लागि के मा कति बजेट आवश्यकता पर्छ, त्यसबारे बृहत् छलफ हुनुपर्छ। आवश्यक स्रोतहरु उपलब्ध गराउन सरकार तयार छ।’





