काठमाडौं : लामो समयपछि काठमाडौं उपत्यकामा आइतबार साँझ हल्का वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकासहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ, गर्जन चट्याङ् सहित हल्का वर्षा भइरहेको छ । पश्चिमी वायु र भारतको बंगाल नजिक बनेको न्यून चापीय रेखाको कारण उपत्यकासहित दुई प्रदेशमा हल्का वर्षा सहित देशभरको मौसम बदली भएको मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आगामी तीन दिन नै मौसम प्रणालीको प्रभाव पर्ने भएकाले देशभरको मौसममा बदली हुने सम्भावना छ । सोमबार दिउँसो देशभरको मौसममा आंशिक बदली रही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार भन्दा मंगलबार काठमाडौं उपत्यकामा पानी धेरै पर्ने सम्भावना रहेको उनको भनाइ छ ।





