काठमाडौँ : सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जेठ ६ गते प्रतिनिधिसभामा बोलेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि बोल्न चाहेको थियो, तर सभामुख देवराज घिमिरेले कांग्रेसलाई बोल्ने मौकै नदिई बैठक स्थगित गरिदिए। त्यसपछि सभाकक्षबाट बाहिरिएर कांग्रेस महामन्त्री गगन थापाले संसद् भवनकै ल्होत्से हलमा पत्रकार सम्मेलन गरे।
सहकारी ठगीमा रविको नाम मुछिएदेखि नै निसाना साँध्दै आएका थापा पत्रकार सम्मेलनमा झन् प्रमाणसहित मुखरित भए। सोहीक्रममा उनले सहकारी ठगीमा फरार प्रतिनिधिसभाकै एक सांसद र गृहमन्त्री रविको कसुरको प्रकृति एउटै भएको दाबी गरे। गगनले भनेका सांसद् हुन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक सांसद गीता बस्नेत।
‘रविजीले आफूमाथि कानुन नलाग्ने भनेर आज संसद्मा बोलिरहँदा म पछाडि फर्केर त्यहाँ बेन्चमा बसिरहने एकजना माननीयको सिट हेरिरहेको थिएँ,’ महामन्त्री थापाले भनेका थिए, ‘यही संसद्, यहीभित्रको एक माननीय यही कानुनले गर्दा आज संसद्मा उपस्थित हुन पाउनुभएन।’
महामन्त्री थापाले गृहमन्त्री रविको कसुर र राप्रपा सांसद बस्नेतको कसुरको प्रकृति समान रहेको बताएका थिए। ‘यो ठ्याक्कै राप्रपा सांसद गीता बस्नेतसँग मिल्छ। उहाँ अहिले फरार हुनुहुन्छ। उहाँ कृष्णसार रिसोर्टमा लगानीकर्ता हुनुहुन्छ,’ उनले भनेका थिए, ‘ठ्याक्क रविजीले भनेजस्तो उहाँ पनि कृष्णसार रिसोर्ट चलाइराख्नुभएको छ। यहाँ तीनवटा सहकारीका नाम छन्, उहाँ कुनैलाई पनि चिन्नुहुन्न तर उहाँको खातामा टनाटन पैसा आउँछ।’
पछिल्लो समय सहकारी डुबेपछि प्रहरीले ‘पैसा कहाँ गयो ?’ भनेर खोजी गर्दा कृष्णसार रिसोर्टमा गएको प्रमाण भेटिएको महामन्त्री थापाले बताए। ‘रिसोर्ट कसले चलाउँछ भन्दा गीता बस्नेतले। अदालत भन्छ– यही ऐनको दफा १२२ अनुसार गीता बस्नेत पनि दोषी भएकाले पक्राउ गर। अदालतले पक्राउ पुर्जी दिन्छ,’ महामन्त्री थापाले भनेका थिए।
राप्रपा सांसद बस्नेतको कसुरका हकमा महामन्त्री थापाले भनेको सत्य हो। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–३ मा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था डुबेपछि प्रहरीले बस्नेतमाथि अनुसन्धान थालेको थियो। बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना भएको जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालिएको थियो।
अनुसन्धानका क्रममा सांसद बस्नेत सञ्चालक रहेको कृष्णसार रिसोर्टमा झन्डै एक करोड ऋण लगेको भेटियो। बस्नेतमाथि त्यसबाहेक पनि चितवनको सनसाइन सहकारी, बर्दियाको नमस्ते सहकारीबाट कृष्णसार रिसोर्टमा करोडौं ऋण ल्याएको बताइन्छ। त्यसपछि सांसद बस्नेतलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई पक्राउ पुर्जी दियो। त्यसयता उनी फरार छिन्, संसद् बैठकमा समेत सहभागी भएकी छैनन्।
यसैक्रममा नवलपरासी प्रहरीले छिपछिपे सहकारीको अनुसन्धान सकेर प्रतिवेदन नै तयार पारेको छ। प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा सांसद् बस्नेतले सहकारी ऐन, २०७४ अनुसार कसुर गरेको भन्दै मुख्य प्रतिवादी बनाएर अभियोजनको रायसमेत पेस गरेको छ। प्रहरीले सांसद बस्नेतसहित १२ जनालाई मुख्य प्रतिवादी किटान गरेको छ भने समग्रमा ३५ जनाविरुद्ध बिगो, कैद र जरिवानाको मागदाबी गरेको छ। ३५ मध्ये १० जना प्रहरीको हिरासतमा छन्। सांसद बस्नेतसहित बाँकी फरार छन्। उनीहरूबाट १६ करोड ५६ लाख ९१ हजार ३१ रूपैयाँ बिगो भराउन मागदाबी गरिएको छ।
सांसद बस्नेतका हकमा सहकारी ऐनको दफा १२२ को (त) बमोजिम कसुर गरेको पुष्टि भएको प्रहरीको दाबी छ। उक्त व्यवस्थामा ‘सहकारी संस्थालाई हानिनोक्सानी पुर्याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिनामूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानि पु¥याउने बदनियतले कुनै कार्य गरे वा गराएमा कसुर गरेको मानिने’ उल्लेख छ।
उक्त कसुरको हकमा ऐनको दफा १२४ को उपदफा (१) (घ) बमोजिम सजाय हुने व्यवस्था छ, जसमा ‘१० लाख रूपैयाँसम्म बिगो भएमा एक वर्षसम्म कैद, १० लाख रूपैयाँभन्दा बढी ५० लाख रूपैयाँसम्म बिगो भएमा दुई वर्षदेखि तीन वर्षसम्म कैद, ५० लाख रूपैयाँभन्दा बढी एक करोड रूपैयाँसम्म बिगो भएमा तीन वर्षदेखि चार वर्षसम्म कैद, एक करोड रूपैयाँभन्दा बढी १० करोड रूपैयाँसम्म बिगो भएमा चार वर्षदेखि ६ वर्षसम्म कैद, १० करोड रूपैयाँभन्दा बढी एक अर्ब रूपैयाँसम्म बिगो भए ६ वर्षदेखि आठ वर्षसम्म कैद र एक अर्बभन्दा बढी जतिसुकै रूपैयाँ बिगो भए पनि आठ वर्षदेखि १० वर्षसम्म कैद’ हुने व्यवस्था छ।
नवलपरासी प्रहरीका अनुसार सांसद बस्नेतमाथि सहकारीको सञ्चालक, बचतकर्ता वा सदस्य भएकाले मुद्दा चलाउने निर्णय भएको होइन। उनले सहकारीको रकम कृष्णसार रिसोर्टमा लगेर हिनामिना गरेकै कारण प्रतिवादी बनाइएको हो।





