धरान : धरान उपमहानगरपालिका–८ बरगाछीमा सिलौटा बनाउँदै गर्दा भेटिएका खनार सुनसरीका विशाल शर्मा मसला पिस्ने लोहोरो, जाँतो र सिलौटोको व्यापारबाट जीविकोपार्जन गरिरहनुभएको छ । उनिले सिलौटा बनाउने पुर्खौली पेसा भएकाले यसलाई निरन्तरता दिएको बताए ।
ढुङ्गाबाट बनेका सामग्री विभिन्न आकार र बुट्टाले भरिएका छन् । शर्माले ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ । उनिले भने , “विदेशमा गएर दुःख गर्नुभन्दा यही सिलौटो व्यापार गरेर जीविकोपार्जन भइरहेको छ ।” स्वदेशमा केही गर्दा आन्दानीसँगै आत्मसन्तुष्टि प्राप्त हुने उनिको बुझाइ छ ।
सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते लेटाङलगायत स्थानबाट खरिद गरी ल्याउने गरेको शर्माले बताए । उक्त व्यापारबाट मासिक रु ३५ देखि रु ४० हजारसम्म आम्दानी हुँदै आएको उहाँले जानकारी दिए ।
“व्यापार गर्न एउटै स्थान बनाएको छैन । एक ठाउँमा तीन÷चारदिन व्यापार गर्छु । तीन÷चारदिनपछि ठाउँ परिवर्तन गर्छु”, शर्माले भने , “पूर्खाले गर्दै आएको पेसा भएकाले पेसाको संरक्षण र आम्दानी हुने भएकाले निरन्तरता दिएको छु ।”
निर्माण गरिएका सामान धरानका साथै पाहाडी भेग, भेडेटार, धनकुटा, इटहरी, बेलबारी, मोरङ, झापालगायत स्थानमा बिक्री हुँदै आएको शर्माले बताए । माग अनुसार कतिपय सामान बनाउने गरेको उहाँको भनाइ छ । “एउटा सिलौटो बनाउन ३० देखि ४० मिनेट लाग्छ । एउटा रु चार सयदेखि आठ सयमा दैनिक १० वटासम्म बिक्री भइरहेको छ”, उनिले भने ।
पछिल्लो समय महँगी र आधुनिकताका कारण व्यवसाय सङ्कटमा पर्दै गएको शर्माको भनाइ छ । “अहिले सिलौटोमा मसला पिस्ने चलन हराउँदै जान थाल्यो, व्यवसाय सङ्कटमा पर्छकी भन्ने डर छ”, उनिले भने , “पुर्खौली पेसा भएकाले संरक्षणका लागि पनि निरन्तरता दिँदै आएको छु ।”
ढुङ्गाको सिलौटो बनाउने पेसालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशका सांसद रमेश बस्नेतले बताए । “परम्परागत रुपमा प्रयोग गर्दै आइएको ढुङ्गाको सिलौटोलाई संरक्षण र प्रवर्द्धन गर्दै लैजानुपर्छ”, उनिले भने , “स्थानीय सरकारले यस्तो पेसा गर्नेलाई सहयोग गर्नुपर्छ । प्रत्येक घरमा ढुङ्गाको सिलौटो छन् । आधुनिकताले गर्दा प्रयोगमा कम आउन थालेको मात्रै हो ।”





