वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)सँग समन्वय गरेर भोजपुरी भाषामा समाचार ‘बुलेटिन’ प्रकाशन गर्ने घोषणा गरेको छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज यहाँ भएको १५औँ नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय समाचार समितिबाट भोजपुरी भाषामा पनि समाचार बुलेटिन प्रकाशन एवं प्रसारण गरिने बताए । “भोजपुरी समाचार प्रकाशनलाई प्राथमिकतामा राखेर त्यसलाई नीति तथा कार्यक्रममा नै समावेश गरिएको छ,” उनिले भने ।
महानगरले आगामी आवको नीति तथा कार्यक्रममा आजीवन पत्रकारिता गरेका अग्रज पत्रकारलाई निवृत्तिभरणको व्यवस्था गर्ने घोषणा गरेको छ । “सञ्चारगृह र पत्रकारहरुलाई विपत्का बेला आवश्यक सहयोग उपलब्ध गराउन विपत् राहत कोषको स्थापना गरिनेछ”, नगरप्रमुख सिंहले भने , “महानगरमा दर्ता तथा सञ्चालनमा रहेका सञ्चारमाध्यमका लागि समानुपातिक ढङ्गले वितरण हुने लोककल्याणकारी विज्ञापनको व्यवस्थालाई निरन्तरता दिइनेछ ।” महानगरले नेपाल पत्रकार महासङ्घ, पर्साको संस्थागत विकासका लागि पनि सहयोग गर्ने जनाएको छ ।





