घोराही : दाङमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।
पश्चिमबाट पूर्व जाँदै गरेको रा १ ख २०६३ नम्बर मिनिट्रकले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १४ प ४१९९ नम्बरको मोटरसाइकललाई शनिवार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गढवा गाउँपालिका–१ कालाकाटे निवासी ४४ वर्षीय सन्तोषकुमार योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।
प्रहरी उपरीक्षक केसीका अनुसार दुर्घटनामा गम्भीर घाइते योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। मृतकको टाउको र खुट्टामा गहिरो चोट लागेको थियो। ठक्कर दिने र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
मिनीट्रक चालक घोराही उपमहानगरपालिका–१३ निवासी राजकुमार विक र मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





