काठमाडौं : आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को युनिटले सोमबार ललितपुरस्थित झम्सिखेलमा पत्रकार भेटघाटको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा फिल्म कर्मसियल हिसाबले नै बनाएको र दर्शकले रूचाउनेमा निर्माणपक्ष पूर्ण आशावादी देखिएको छ । फिल्मका निर्देशक राजु गिरीले फिल्मले झण्डै ७० वर्ष अघि घर-घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए । ‘अहिलेका दर्शकले मनपराउने फ्लेभरको माया प्रेम, सेन्टिमेन्टल र कमेडी फ्लेभर फिल्ममा छ’, उनले भने ।
यसैगरी ‘नम्बरी सुन’ हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने निर्माण पक्षले घोषणा गरेको छ । पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई फिल्मका तर्फबाट सुन उपहार दिने घोषणा गरेका हुन् ।
उनले खल्ती एपबाट फिल्म ‘नम्बरी सुन’को टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जनालाई दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने खुलाए । प्रस्तुतकर्ता खाती पेशाले सुन व्यवसायी हुन् ।
फिल्ममा नायिका नम्रता सापकोटा ,नायक विनोद न्यौपाने , गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।





