काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन जडान गरेको छ ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै मंगलबार साँझ ८ बजेदेखि विद्युत् जडान भएको हो । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेसँगै प्राधिकरणले मंगलबार रातीदेखि उक्त उद्योगमा विद्युत् जडान गरेको हो । ‘उद्योगीले पनि बक्यौता रकम तिर्नुपर्छ, प्राधिकरणले पनि लाइन काट्न हुँदैन,’मन्त्री खड्काले भने ।
प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।





