काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भन्सार दर समायोजन गर्न आग्रह गरेको छ ।
भारतले बजेटमार्फत भन्सार दर घटाएपछि नेपालमा परेको प्रभावबारे अर्थमन्त्री पौडेललाई जानकारी गराउँदै महासंघका प्रतिनिधिले नेपालमा पनि सोहीअनुसार भन्सार दर समायोजन गर्न आग्रह हो । भारतले हालै आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपाल भने चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरी २० प्रतिशत पुर्याइएको छ ।
खुल्ला सीमाका कारण दुई देश बीचको भन्सार दरबीच असन्तुलनले अवैध कारोबारले प्रोत्साहन पाउने महासंघको दाबी छ । व्यवसायीसँको भेटमा अर्थमन्त्री पौडेलले मागलाई गम्भीर रुपमा लिएको बताए । उचित अध्ययनपश्चात् निर्णय लिने बताए ।
व्यवसायीहरुले भने सुनको आयतमा कोटा वृद्धि गर्नुपर्ने, वर्षभरि हुने आयातलाई सिलिङ मानेर बजारको माग र आवश्यकताका आधारमा एउटा महिनाको सुन वर्षभरिमा जुनसुकै महिना पनि ल्याउन पाउनुपर्ने माग राखेका थिए । सुनचाँदीको गरगहना आयातमा भएको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने, चाँदी आयातको सीमा वृद्धि गरिनुपर्ने लगायतमा माग राखेका थिए ।





