काठमाडौं : कोशीमा कांग्रेस र एमालेले मन्त्रालय भागबन्डा भने टुंग्याएका छन् । शनिवार काठमाडौंमा दुई दलका नेता बसेर मन्त्रालयको भागबन्डा टुंग्याएका हुन् । उपसभापति रमेशजंग रायमाझीका अनुसार चार मन्त्री र दुई राज्यमन्त्री कांग्रेसले पाउने भएको छ ।
कांग्रेसले यसअघि माओवादी केन्द्रले सम्हालेका तीन मन्त्रालय पाउने सहमति भएको हो । माओवादीले भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हालेको थियो । यस्तै, सामाजिक विकास तथा कृषि मन्त्रालयमध्ये एक मन्त्रालय कांग्रेसले पाउने गरी सहमति भएको रायमाझीले बताए । ‘कृषि मन्त्रालय लिन भनेर एमालेले भनेको थियो,’ रायमाझीले भने, ‘हामीले सामाजिक लिन्छौं भनेपछि मुख्यमन्त्री आफैं सकारात्मक हुनुभएको छ ।’
छलफलमा मुख्यमन्त्री कार्कीसहित एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, प्रमुख सचेतक रेवतीरमण भण्डारी र कांग्रेसका तर्फबाट उद्धव थापा, प्रदेश उपसभापति रायमाझी र प्रमुख सचेतक गोपाल तामाङ सहभागी थिए। कांग्रेस र एमालेबीच संसदीय समिति नेतृत्वको विषयमा पनि सहमति भएको छ । एमालेले तीनवटा र कांग्रेसले दुईवटा लिनेगरी सहमति भएको नेताहरूले जनाएका छन् ।
एमालेले कांग्रेससँग लिखित सहमति गर्न भने मानेको छैन । लिखित गरेर जानु आवश्यक नभएको एमालेका प्रमुख सचेतक भण्डारीले बताए । सार्वजनिक लेखा समिति भने माओवादीलाई दिने सहमति भएको नेताहरूले बताएका छन् ।
मन्त्रालय भागबन्डा मिले पनि कांग्रेसलाई मन्त्री छान्न भने सकस परेको छ । कांग्रेसले मन्त्रीहरूको नाम नटुंग्याउँदा सरकारले भने पूर्णता पाउन सकेको छैन । केन्द्रीय सभापति शेरबहादुर देउवाले नाम नपठाएका कारण ढिलो भएको नेताहरूले बताएका छन् । आउँदो आइतबारसम्म मन्त्रीहरूको शपथ हुन सक्ने सम्भावना रहेको उपसभापति रायमाझीले बताए ।
यस्तै सोमबार बसेको कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्न मापदण्ड बनाएको छ । समावेशिता, क्षेत्रीयता, र कार्यक्षमतालाई आधार मानेर मन्त्री छान्ने निर्णय भएको कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले बताए ।
कोशीमा संस्थापन समूहबाट सभापति देउवानिकट सांसदहरू अमृत अर्याल, प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम मन्त्रीको दौडमा रहेका छन् । कृष्णप्रसाद सिटौला पक्षका भीम पराजुली, भूपेन्द्र राई तथा शेखर कोइराला पक्षका रामकुमार खत्री, गोविन्द गिरी र मानबहादुर लिम्बूसहित सांसद मन्त्री हुने दौडमा रहेका छन् ।
कोशीमा कांग्रेसका २९ सांसद छन् । २९ मध्ये २७ जना मन्त्री हुने भनेर हिँडेका कारण ढिला भएको उपसभापति रायमाझीले बताए । तर, केन्द्रले पठाएको नाममा नै अनुमोदन हुने प्रदेशका पदाधिकारीहरू बताउँछन् ।





