काठमाडौँ : अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच सेप्टेम्बर १० मा एबिसी न्युज च्यानलमा पहिलो प्रत्यक्ष बहस हुने भएको छ। सो टेलिभिजन नेटवर्कले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धामा रहेका ट्रम्प र ह्यारिसबीच बहस तय भएको पुष्टि गरेको हो।
रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्रतिद्वन्द्वी ह्यारिससँग पटकपटक बहस गर्ने बताएका थिए। ‘हामीलाई के लाग्छ भने हामीले तीनवटा बहस गर्नुपर्छ,’ उनले भनेका थिए। उनले यसबाहेक फक्स न्युज र एनबिसीमासमेत बहस हुनुपर्ने बताएका थिए।
डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेकी ह्यारिसले एबिसी बहसमा सहभागी हुन आफू तयार रहेको प्रतिक्रिया दिएकी छन्। ट्रम्पले प्रस्ताव गरेबमोजिम थप बहसका लागि पनि आफू तयार रहेको उनले बताएकी छन्।
सेप्टेम्बर १० मा हुने पहिलो बहस ‘बल्र्ड न्युज टुनाइट’ का प्रस्तोता तथा प्रबन्ध सम्पादक डेभिड म्युर एबिसी न्युज लाइभकी उद्घोषिका लिन्जी डेभिसले सञ्चालन गर्ने सो नेटवर्कलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
यसअघि रिपब्लिकन पार्टीका उम्मेदवार एवं पूर्वराष्ट्रपति ट्रम्पले गत जुनमा वर्तमान राष्ट्रपति जो बाइडेनसँग चुनावी बहस गरेका थिए। उक्त बहसमा वाइडेनको प्रस्तुति अत्यन्त कमजोर देखिएको थियो।
कतिपय प्रश्नमा उनी अकमकिएका थिए। कमजोर प्रस्तुतिका कारण व्यापक आलोचना भएपछि उनी राष्ट्रपति पदको उम्मेदवारको प्रतिस्पर्धाबाट बाहिरिएका हुन्। उनले वर्तमान उपराष्ट्रपति ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवारमा समर्थन गरेका छन्। राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट आवश्यक प्रतिनिधिहरूको समर्थन जुटाएपछि ह्यारिस पार्टीको आधिकारिक उम्मेदवार बनेकी हुन्।
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीले डेडी भान्स र डेमोक्र्याटिक पार्टीले टिम वोल्ट्सलाई अगाडि सारेका छन्। उपराष्ट्रपति पदका यी दुई उम्मेदवारबीच पनि प्रत्यक्ष बहस आयोजना गर्ने तयारी छ।





