काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सुदृढीकरणका लागि चार महिने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि पार्टीले कार्यकारिणी सदस्यबाहेक सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिएको छ ।
अभियानबाट २०८४ सालसम्म पाँच लाख क्रियाशील सदस्य बनाउने लक्ष्य पार्टीले लिएको छ । अहिले जसपा नेपालका एक लाख ४५ हजार क्रियाशील सदस्य छन् । एक जना केन्द्रीय सदस्यलाई कम्तीमा एउटा र बढीमा तीन वटासम्म पालिकाको जिम्मेवारी दिइएको हो । हिमाल तथा पहाडी जिल्लाका केही केन्द्रीय सदस्यलाई सम्पूर्ण जिल्लाको पनि जिम्मेवारी दिएको छ । जसपा नेपालको २ सय १५ सदस्यीय केन्द्रीय समितिमा नौ जना कार्यकारिणी सदस्य छन् ।
चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा यो चार महिने अभियान सञ्चालन हुने प्रस्ताव गरिएको छ । सो प्रस्तावमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट पनि गरिएको छ । आज सो प्रस्तावमाथि छलफल गरेर टुङ्गो लगाउने कार्यकारिणी सदस्य मनिष सुमनले बताए । यो अभियान भदौ १ गतेदेखि सञ्चालन हुनेछ ।





