दुई तिहाइको घमण्ड देखाए सडकमा उत्रन्छौं : प्रचण्ड

२०८१ भाद्र १३, बिहीबार

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन्। धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सरकारलाई सम्झाएको उनको भनाइ थियो। ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उनले भने ‘उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध हामी सडकमा आउँछौं।’

आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान नरोक्न पनि उनले सरकारलाई सचेत गराए। ‘दुई तिहाइको घमण्ड नगर्नोस्, तपाईंहरु सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुने छ तर तपाईंहरुको लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन। गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो।’ उनले भने।

अहिले दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको जिकिर गरे।

‘उहाँहरु संविधानमा माओवादी देख्नुहुन्छ, समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी’ अध्यक्ष दाहालले भने ‘अहिले दुई तिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनुभएको छ। परिवर्तनका एजेण्डा जति माओवादीका भएकाले माओवादीलाई देखाइदिने नाममा जनतामाथि नै घात गर्ने खतरा आए हामी सडकबाट प्रतिवाद गर्नेछौं।’

दुई ठूला पार्टी डराएर मिलेको टिप्पणी गर्दै अध्यक्ष दाहालले संसदीय अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको पनि टिप्पणी गरे। ‘दुई ठूला पार्टी मिल्न नहुने हो तर भ्रष्टाचार विरोधी अभियानका कारण उहाँहरुले गर्न नहुने काम गर्नुभएको छ’ उनले थपे ‘उहाँहरुले भन्ने गरेको संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी कतै मिल्दैनन्। कांग्रेस आइ र बिजेपी मिलेर सरकार बनाउने कुरा चल्छ त इण्डियामा ? बेलायत, अमेरिका कतै यस्तो देखिँदैन।’

कहीँ नहुने काम कांग्रेस र एमालेले गरेको टिप्पणी गर्दै अध्यक्ष दाहालले संविधानमाथि घात हुन नदिने उल्लेख गरे। उनले वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माण हुनुअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा विचौलियाको भूमिका के छ भनेर प्रष्ट देखिने बताए।

‘सरकार हटाउन भएका बैठकका घर हेर्नोस्, हस्ताक्षर कहाँ गएर गर्नुभो, त्यो घरका मालिक हेर्नोस्’ अध्यक्ष दाहालले भने ‘त्यसबाट थाहा हुन्छ विचौलियाले के भूमिका निर्वाह गरे भनेर।’ अर्को प्रसंगमा अध्यक्ष दाहालले भ्रष्टाचारका विषयमा मुद्दा चलाउन पाँच वर्षे हदम्याद लगाउनु हुँदैन भन्नेमा माओवादी स्पष्ट रहेको बताए। कांग्रेस पनि त्यसको विपक्षमा उभिने उनको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार