काठमाडौँ : भारतीय राज्य मणिपुरमा पूर्वमुख्यमन्त्रीको घरमा आक्रमणको भोलिपल्ट शनिबार (सेप्टेम्बर ७) फेरि हिंसा भड्किएको छ। जिरिवाम जिल्लामा आज बिहान भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ।
इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा भीडले आक्रमण गरेको छ। सुरक्षाकर्मीको जवाफी कारबाहीमा ५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पहिलो घटना जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा जिरिवाममा भएको हो। संदिग्ध पहाडी लडाकुहरूले घरमा घुसेर सुतिरहेका एक वृद्धलाई गोली हानेर हत्या गरेका छन्। कुलेन्द्र सिंह नामका व्यक्ति मारिएका हुन्। उनी घरमा एक्लै बस्थे ।
वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो। जसमा ४ जनाको मृत्यु भएको छ। बिहानैदेखि उक्त क्षेत्रमा लगातार गोली चलेको खबर छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।





